८ वैशाख २०८१ शनिबार
राजनीति

अमेरिकी राजदूतसमक्ष अध्यक्ष दाहालले प्रस्ट्याए विज्ञप्तिको कारण

काठमाडौं– भेनेजुएलाको विषयमा हस्तक्षेप नगर्न चेतावानी दिएको दुई सातापछि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको छ। वार्तामा अध्यक्ष दाहालले आफ्नो विज्ञप्ति आउनुको कारण राजदूतसमक्ष प्रस्ट पारेका छन्।

आइतबार काठमाडौंमा रिपोर्टस क्लबमा बोल्दै नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दाजदूत बेरी र अध्यक्ष दाहालबीच भएको वार्ताको पुष्टि गरेका हुन्। नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्षबीच हिजो एक्लाएक्लै भेटवार्ता भइसकेको छ। राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यू (दाहाल)ले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नु भएको छ। अब यो समस्या हल भयो।’

हिजो मात्रै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच तीन घण्टा लामो भेटवार्ता भएको पौडेलले जनाए। उनले भने, ‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो। मिलेर जाने सहमति भएको छ। अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ।’ भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारेका छन्। उनले भने, ‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो। यसमा अब अल्झिनुपर्दैन।’

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आगामी दिनमा मिलेर जानेबारे गम्भीर कुराकानी भएको पनि पौडेलले स्पष्ट पारे। उनले भने, ‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरुबीच सहमति भएको छ। पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भीर कुरा भएको छ। पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु।’

पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरु ख्याल गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘शब्दहरुको ख्याल पुर्याउनुपर्छ। कुनै पनि राष्ट्रलाई चिढ्याउनु हुँदैन।’ नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुंगो लगाउने काम गरिरहेको सुनाए। तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु र केही संघ संस्थाले यो विषयलाई उचाल्ने काम गरेको उनको आरोप छ। उनले भने, ‘संघ संस्थाहरु भनेर मैले कांग्रेसलाई भन्न खोजेको होइन। कांग्रेस त शान्ति प्रक्रिया टुंगो लगाउन दृढ छ। हामी सबै मिलेर कोसिस गरिरहेका छौं।’ नेता पौडेलले वर्तमान सरकार गठनको वर्ष दिन पुग्न लागेको सुनाउँदै यो एक वर्षको कार्यकाल हेर्दा सरकार सापेक्षिक रुपमा सफल भएको दाबी गरे। उनले थपे, ‘सरकारको एक वर्ष सापेक्षित रुपमा सफल छ। तर, उत्साहजनक छैन।’

यद्यपी उनले सरकारले गम्भीर गल्ती नै भने नगरेको जिकिर गरे। ‘सरकारले यो अवधिमा केही काम गर्न प्रयत्न गरेको छ। त्यही भएर असफल नै भनेर भन्न मिल्दैन’, उनले थपे, ‘दुई तिहाईको सरकार छ, जनताका असीमित चाहना छन्, तिनको सम्बोधन नहुँदा आलोचनाको मात्रा मात्र बढेको हो।’

प्रकाशित: २७ माघ २०७५ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App