१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तीव्र विरोधपछि भारतले ट्रेन्च खन्न र तारबार गर्न राेक्याे

गौरीफन्टा नाकामा नेपाली र भारतीय सुरक्षा अधिकारीहरु छलफल गर्दै। तस्बिर : पुष्पराज/नागरिक

डोकेबजार (कञ्चनपुर) - भारतीय पक्षबाट एकलौटी रूपमा थालिएको ट्रेन्च खन्ने र तारबार गर्ने कार्य स्थानीयको तीव्र विरोधपछि स्थगित भएको छ। नेपालका भूभाग र बस्ती डुबानमा पर्नेगरी भारतीय पक्षले दुई दिनदेखि कञ्चनपुरको डोकेबजारनजिक दसगजा छेउमा ट्रेन्च खन्न र सिमेन्टको खम्बा गाडेर तारबार गर्न सुरु गरेको थियो।

सीमाक्षेत्रमा रहेको भारततर्फको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको, चोरीसिकार बढेको र जंगलबाट तस्करी हुने गरेको भन्दै आफ्नो जमिनमा माटोको पर्खाल र तारबार गरेको भारतीय पक्षको तर्क छ। नेपालका भूभाग र बस्ती डुबानमा पर्नेगरी हेपाहा प्रवृत्तिले मापदण्डविपरीत निर्माण थालेको स्थानीयको भनाइ छ। कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारी, जिल्ला वन अधिकृत तथा भारतका सुरक्षा र वन अधिकारीबीच गौरीफन्टामा भएको अनौपचारिक बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि ‘काउन्टर पार्ट’को बैठकसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सहमति भएको थियो।

बैठकमा भारतका अधिकारीले आफ्नो जमिनमा माटोको ट्रेन्च बनाउन पाउनुपर्ने तर्क राखेका थिए भने नेपाल पक्षकाले नेपाली भूमि डुबानमा पर्नेगरी सीमामा संरचना बनाउनु मापदण्डविपरीत भएको तर्क अघि सारेका थिए। सीमा समस्यालगायत विषयमा सीमावर्ती दुवै देशका अधिकारीबीच ६÷६ महिनामा काउन्टर पार्टको बैठक बस्ने गर्दछ। सीमाक्षेत्रमा डोजर चलाएर गहिरो ट्रेन्च खन्न थालेपछि नेपालतर्फका स्थानीयले विरोध गरेका थिए।

दुधुवा नेसनल पार्कबाट वन्यजन्तु नेपालतर्फ जाने र चोरीसिकार बढ्न थालेपछि आफूहरूले भारतीय क्षेत्रमा ट्रेन्च खनेर तारबार लगाउन थालेको दुधुवा नेसनल पार्कका फरेस्टर सन्तकुमार त्रिपालीले बताए। ‘हामीले सीमा अतिक्रमण गरेका होइनौं तर दुधुवा नेसनल पार्कमा रहेका वन्यजन्तु नेपालको बस्तीतर्फ जाने र चोरीसिकार हुने भएकाले त्यसलाई रोक्न ट्रेन्च खनेर तारबार गर्न थालेका हौं,’ उनले भने। उत्तर प्रदेश सरकार र केन्द्र सरकारले नै दुधुवा नेसनल पार्कको गौरीफन्टा नाकाबाट दुई किलोमिटर पश्चिमतर्फ ट्रेन्च खनेर तारबार गर्न बजेट छुट्ट्याएको र सोहीअनुसार काम अगाडि बढाएको उनले बताए। उनले नेपालतर्फको विरोधका कारण जैविक मार्गमा पर्ने दुधुवा नेसनल पार्कको ट्रेन्च खन्ने र तारबार गर्ने कार्य अहिलेलाई स्थगित गरेको बताए।’ उनले माथिल्लो तहमा यसबारे जानकारी गराएर दुई देशीय छलफल चलाउने बताए।

अनुगमनका लागि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कञ्चनपुरका प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ, वन डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख मोहनराज काफ्लेसहितको टोली डोकेबजार पुगेको थियो। यस्तै भारतबाट उत्तर प्रदेश प्रहरी कोतवाल उमेश्वरप्रसाद यादव, वन विभागका फरेस्टर सन्तकुमार त्रिपाठी, भारतीय सीमा सुरक्षा बलका इन्सपेक्टर अभय यादव, फरेस्टर मनोजकुमार मौर्यालगायतको टोलीले छलफल गरेको थियो। छलफलका क्रममा वन डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा जोडिएको दुधुवा नेसनल पार्कमा वन्यजन्तुको बाटो अवरुद्ध हुने गरि तारबार र माटोको ट्रेन्च लगाउन नहुने बताए।

छलफलका क्रममा उनले भने, ‘यो जैविक मार्ग हो, यहाँ वन्यजन्तुको आवागमन अवरुद्ध हुनेगरी कुनै पनि संरचना बनाउन पाइँदैन।’ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरका सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले अन्तर्राष्ट्रिय जैविक मार्गमा कुनै संरचना बनाइँदा दुई देशबीचको आपसी समझदारी हुनुपर्ने बताए। उनले भने, ‘बृहत् छलफलपछि दुवै देशका सुरक्षा अधिकारीले आ–आफ्नो मातहतका निकायलाई जानकारी गराउने सहमति भएको छ।’ यसबीचमा बाँकी ट्रेन्च खन्ने र तारबार लगाउने कार्य स्थगित गरिएको उनले बताए।

दुधुवा नेसनल पार्कका वन्यजन्तु नेपालतर्फ जाने र चोरी सिकारी हुनुका साथै दैनिक उपभोग्य सामान तस्करी हुन थालेपछि सीमामा ट्रेन्च खनेर तारबार लगाउन थालेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) का इन्सपेक्टर अभय यादवले बताए। ‘हामीले सीमा मिचेको नभई वन्यजन्तु रोक्न तारबार लगाएका हौं,’ उनले भने। तर यसरी अन्तर्राष्ट्रिय जैविक मार्गमा तारबार लगाउन नमिल्ने भन्दै नेपाली बस्तीका स्थानीयले आवाज उठाएका थिए। चार वर्षअघि पनि भारतले माटोको ट्रेन्च खनेकोमा स्थानीयको विरोधपछि भत्काइएको थियो। ‘अन्तर्राष्ट्रिय जैविक मार्गमा कसैले पनि तारबार लगाउन र ट्रेन्च खन्न पाउँदैन,’ स्थानीय राजबहादुर ऐरले भने, ‘यसरी ट्रेन्च खन्ने कार्य अन्तर्राष्ट्रिय जैविक मार्गविरपरीत हो।’ सीमामा रहेको दुधुवा नेसनल पार्कमा गहिरो ट्रेन्च खन्दा जैविक मार्गका रूपमा रहेको जंगलमा वन्यजन्तु वारपार गर्न नसक्ने बताउँदै उनले भने, ‘गहिरो ट्रेन्च खनिँदा जैविक मार्ग जोडिएको दुधुवा नेसनल पार्क–लालझाडी जंगल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु ओहोरदोहोर गर्न सक्दैनन्।’
भारत सरकारको केन्द्र र प्रदेश सरकारको वन मन्त्रालयबाटै ट्रेन्च खन्न र तारबार लगाउन बजेट पठाएको बताउँदै अर्का फरेस्टर मनोजकुमार मौर्याले भने, ‘अब जैविक मार्गका विषयमा आफूमातहतका निकायलाई खबर गर्नेछौं। तबसम्मका लागि यो कार्य स्थगित गर्छौं।’ उनले चाँडै दुई देशका अधिकारीबीच बसेर छलफल गरिने बताए। भारतीय पक्षले एकलौटी रूपमा आफूखुसी तारबारसहित ट्रेन्च खन्न थालेपछि बर्खायाममा नेपालतर्फको डोकेबजार डुबानको चपेटामा पर्ने डोकेबजारका स्थानीयले विरोध गरेका थिए।

प्रकाशित: १२ माघ २०७५ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App