२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उत्तरगया धाम बचाउन माग गर्दै उर्जामन्त्रीलाई ज्ञापनपत्र

रसुवा – रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाम संरक्षण गर्न माग गर्दै उर्जामन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाइएको छ।

उक्त धार्मिक क्षेत्रमा पानीको बहाव सुकाउने गरी कुनै पनि आयोजना बनाउन नहुने र नदिने माग समेटिएका ज्ञापनपत्रसहित पौष कृष्ण औंसी (गया औंसी) का दिन संकलित हस्ताक्षर बुझाइएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए। ज्ञापनपत्र तथा हस्तारक्षर बुझ्दै उर्जामन्त्री पुनले स्थानीयका माग सम्बोधन हुने आश्वासन दिएका छन्। ‘स्थानीयका मागप्रति मन्त्रालय संवेदनशील छ,’ उर्जा मन्त्री पुनले भने, ‘यसका लागि गर्नुपर्ने काम हामी गर्छौं।’ उत्तरगया धाम बचाउन उत्तरगया बचाउ संघर्ष समितिले हस्ताक्षर संकलन गरेको थियो। दुई जिल्ला भएर बग्ने त्रिशूली गंगाको प्राकृतिक बहाव रोक्ने गरी मध्ये त्रिशूली गंगा जलविद्युत् आयोजना निर्माण गर्न लागेका छ।

‘जिल्लाका विकास निर्माणमा अहिलेसम्म जनताले अवरोध पु-याएका छैनन्,’ अध्यक्ष लम्सालले भने, ‘उत्तरगया धामबाट दुई सय मिटरमाथि आयोजना निर्माण गर्न सकिने देखिएको छ। केहीमाथि निर्माण गर्दा दुवैलाई फाइदा हुन्छ भने यसमा आयोजनाले पनि ध्यान दिनुपर्छ,’ उनले थपे।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल उक्त धामलाई विनाश गर्न नदिने स्थानीय बासिन्दाले बताएका छन्। स्कन्द पुराणको हिमवतखण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशूली र देवीगंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनिएको हो। उक्त नदीमा श्राद्ध गरेमा पितृ उद्धार भई स्वर्ग जाने विश्वासले पौष कृष्ण औंसीका दिन १५ हजारदेखि २० हजार जनासम्म श्राद्ध गर्न पुग्ने गरेका छन्।

प्रकाशित: १० माघ २०७५ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App