१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

पार्टी एक ढिक्का बनाउने संकल्प

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीभित्र बृहत्तर एकता कायम गरेर आगामी निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचन पराजयको जिम्मेवारी कसले लिने भन्नेमै १३ महिना गुजारेका शीर्ष नेताहरूले राजधानीमा शनिबार सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा वामपन्थीसँग लड्न पाटृहत् एकताको अर्को विकल्प नभएकोमा जोड दिएका छन्।

तह्रौं महाधिवेशनको तीन वर्षपछि महासमिति बैठक सुरु भएको हो। उद्घाटन समारोहमा सम्बोधन गर्दैै शीर्ष नेताहरूले गुट र व्यक्तिवादी प्रवृत्ति हाबी भएसम्म पार्टीभित्रको एकता सम्भव नरहेको जिकिर गरे।

पार्टीभित्रको एकता आफ्नो स्वार्थ रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले भने, ‘पार्टीलाई एकताबद्ध, अनुशासित, सशक्त बनाउनु कुनै कसर राख्दिनँ।’

गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले जस्तो पार्टी छाडेर जाने अवस्था आउन नदिने प्रतिबद्धता जनाउँदै देउवाले भने, ‘आपसी एकता र नवीन दृष्टिकोणले मात्र कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सकिन्छ। त्यही बाटोमा सबै लागौं।’

पार्टीभित्र विधि र पद्धति स्थापित गर्न आफूले पनि चाहेको सुनाउँदै देउवाले भने, ‘एकता गर्नुपर्छ, सबैलाई मिलाएर लैजानुपर्छ भन्नेमा म सधैं छु। तपाईहरू पनि त्यही बाटोमा लाग्नुस्।’

पार्टी नेता तथा कार्यकर्ताको ध्यान सरकार र विपक्षीको भन्दै आफ्ना नेताहरूको आलोचनामा धेरै खर्चेको देउवाले गुनासो गरे। ‘म किन ठिक छैन ? उसो भए ओली (केपी शर्मा ओली) ठिक छन् त ?’ भन्ने प्रश्न गर्दै देउवाले प्रधानमन्त्री ओलीविरुद्ध पनि बोल्ने हिम्मत गर्न आफ्ना नेताहरूलाई आग्रह गरे। ‘मेरो विरोध गर्ने छुट तपाईंहरूलाई छ, मैले गल्ली गरे सुधार्न पनि तयार छु,’ देउवाले भने, ‘ओलीको खिलापमा माधव नेपाल (नेकपा वरिष्ठ नेता) ले जत्ति बोल्ने त हिम्मत त गर्नुस्।’

ओली नेतृत्वको सरकार मुलुकमा सर्वसत्तावाद लाद्न उद्यत रहेको आरोप लगाउँदै देउवाले सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरे।

देउवाले नेताकार्यकर्ताले हल्ला गरेपछि पटकपटक आफ्ना कुरा सुन्न र चित्त नबुझे भोलि (आइतबार) बोल्न आग्रह गरेका थिए।

नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध गरेर लैजान आफ्नो तर्फबाट कुनै कसर नराख्ने प्रतिबद्धता जनाए। सभापति देउवा र आपूm जुँगाको रेखे बसेदेखि एउटै लक्ष्य र समर्पणसहित कांग्रेस राजनीतिमा लागेको जानकारी पौडेलले दिए। उनले भने, ‘हामी दईबीच आत्मीयता किन नहुने ? एउटै लक्ष्य बोकेका मान्छेहरूबीच मेल किन हुन सक्दैन ? हुन्छ।’

सभापतिसँग हातेमालो गरेर एकताको सन्देश दिन आग्रह गरेका नेताकार्यकर्ताप्रति प्रश्न गर्दै पौडेलले भने, ‘यहाँ (महासमिति) बाट फेर्केर जिल्ला पुग्दा तपार्इंहरूचाहिँ तेरो र मेरो भने विवाद नगर्नुस्।’

हात मात्र मिलाएर पार्टीभित्रको एकता नहुने सुनाउँदै नेता पौडेलले मनैदेखि कांग्रेसभित्रको एकता आवश्यक रहेको औंल्याए। एकताका लागि वैज्ञानिक आधार चाहिने दाबी गर्दै पौडेलले भने, ‘न्याय, निष्पक्षता र पारदर्शिता एकताको आधार हुनुपर्छ।’

पार्टी मात्र होइन मुलुक नै संकटतर्फ अघि बढ्न थालेको धारणा राख्दै नेता पौडेलले त्यसलाई चिर्न, सोच्न र बोल्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको दाबी गरे। नेताले मात्र नभएर कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्ने समय आएको दाबी गर्दै उनले भने, ‘निर्वाचनको हारलाई जितमा परिणत गर्न हामीबीच एकता आवश्यक छ।’

नेता पौडेलले ओली सरकार देशमा विकास र समृद्धि ल्याउन नभई नयाँ वर्ग जन्माउन लागिपरेको आरोप लगाए। वर्तमान सरकारले राष्ट्रको सारा साधनस्रोत आफ्नो पार्टी र नेताकार्यकर्तालाई पोसेको आरोप लगाउँदै पौडेलले समृद्ध नेपाल, सुखी नेपाल नारा तय गरे पनि त्यसतर्फ अघि बढ्न नसकेको दाबी गरे। सरकारबाट देशमा समृद्धि ल्याउन नसक्ने जिकिर उनले समृद्धिको यात्रा पनि कांग्रेसबाट मात्र सम्भव हुने बताए। ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई गर्न पनि दिन्नँ’ भन्दा आफूले प्रधानमन्त्री केपी ओलीलाई स्याबासी दिएको भन्दै पौडेलले भने, ‘मेरो स्याबासी कहाँ पुग्यो–पुग्यो। भ्रष्टाचार रोक्न प्रधानमन्त्री सुध्रिनुपर्छ। प्रधानमन्त्रीले मन्त्री र मन्त्रीले सचिव हुँदै तलसम्म सुधार गर्न सकिन्छ।’ सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पंगु बनाएको आरोप लगाउँदै पौडेलले भने, ‘अब हामीले सरकारलाई आंैला ठड्याएर कठघरामा उभ्याउनुपर्छ।’

उपसभापति विमलेन्द्र निधिले देशभरका नेताकार्यकर्ता र शुभेच्छुकहरूको चाहना पार्टीभित्रको एकता रहेको बताए। पार्टी एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको धारणा राख्दै निधिले भने, ‘आगामी चुनावमा जित्ने पार्टी बनाउने हो भने आरोपप्रत्यारोप र हारबाट बाहिर निस्किएर एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’

पार्टीलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने तर्क उनको छ। उनले भने, ‘ओली नेतृत्वको सरकार हटाउन लाग्नुको साटो आफ्नै पार्टी सभापति कसरी हटाउन मात्र लाग्यौं भने अर्को चुनावमा पनि हामी पहिलो पार्टी बन्न सक्दैनौं।’

संविधानसभाबाट जारी संघीय लोकतान्त्रिक संविधानमाथि ओली नेतृत्वको सरकारले प्रहार गरिरहेको आरोप निधिले लगाए। उनले भने, ‘संघीयता र समावेशिता रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छ। त्यसैले कांग्रेस रुन्चे भएर हुँदैन, दोषारोपण, घोचपेच गर्न हुँदैन। अबको चुनावमा कसरी जित्ने भनेर लाग्नुपर्छ।’

अर्का उपसभापति विजयकुमार गच्छदारले एकपटक चुनाव हार्दैमा कांग्रेसको इतिहास नसकिने दाबी गरे। पार्टी शीर्ष नेता देउवा र पौडेललाई विवाद नगर्न आग्रह गर्दै गच्छदारले पार्टीभित्रको मनमुटाव हटाउँदै आगामी निर्वाचनबाट पहिलो पार्टीमा पुनस्र्थापित गर्नुपर्नेमा जोड दिए। सभापति देउवा र नेता पौडेलले एउटा प्लेटको फुरुनदाना बाँढेर खाएको प्रसंग उल्लेख गर्दै गच्छदारले महासमिति बैठकको उद्घाटन सत्रबाटै एकताको सन्देश दिन आग्रह गरेका थिए।

गच्छदारको आग्रहमा सहभागीहरूले हुटिङ गर्दै साथ दिएपछि देउवा र पौडेल अप्ठेरोमा परेका थिए। निरन्तर हलको हुटिङपछि देउवाले छेउमै बसेका पौडेलतिर नजर लगाउँदै उठ्न संकेत गरे। तर पौडेल नउठेपछि देउवा उठेर हात हल्लाएलगत्तै पौडेलले पनि उठेर हात हल्लाए। तर, गच्छदारले हातेमालो गर्न आग्रहपछि अर्का उपसभापति विमलेन्द्र निधि उठेरै सभापति देउवा र पौडेललाई एकताको सन्देश दिन आग्रह गरे। त्यसपछि देउवा र पौडेल मात्र होइन, महामन्त्री शशांक कोइराला र निधिले पनि हात उठाएर एकताको सन्देश दिएका थिए। त्यसपछि सहभागीहरू उत्साहित भएका थिए।

महामन्त्री शशांक कोइरालाले सभापति देउवा र नेता पौडेललाई पार्टी एकताका लागि सम्पूर्ण ताकत लगाउन आग्रह गरेका थिए। त्यसका लागि आफू जस्तोसुकै सहयोग र त्याग गर्न तयार रहेको सुनाउँदै कोइरालाले पार्टीभित्रको बृहत् एकता नै कांग्रेसको बल भएको दाबी गरे। त्यसअघि बोल्ने पार्टीका पूर्वपदाधिकारीले पार्टीभित्र एकता आवश्यक रहेको औंल्याएका थिए।

पुस ४ गतेसम्म चल्ने महासमिति बैठकको शनिबार राति सुरु भएको बन्दसत्रमा विधानबाहेक सबै प्रस्ताव पेस भएको छ। आइतबारदेखि प्रदेशअनुसार समूह बनाएर प्रतिवेदनमाथि छलफल हुनेछ। गुटगत विवादले विधानमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिले अन्तिम प्रस्ताव बनाउन सकेको छैन।

 

प्रकाशित: १ पुस २०७५ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App