८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

स्वतन्त्र मधेश राष्ट्र माग गर्ने भूमिगत समूह वार्तामा

राजविराज - स्वतन्त्र तराई/मधेश राष्ट्र स्थापनाको माग सहित पछिल्लो डेढ दशक देखि भुमिगत जीवन विताई रहेका जयकृष्ण गोईतलाई वाईपास गर्दै उनी नेतृत्वकै भुमिगत संगठनका नेताहरु सरकारसँगको वार्तामा सहभागि भएका छन्।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा मात्रै नेपाल सरकारसँग वार्ता गर्ने अडान राख्दै आएका गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) आवद्ध केन्द्रीय नेताहरुको एक समुह बुधवार राजविराजमा सरकारी वार्ता टोली समक्ष हतियार सहित सार्वजनिक भएका छन्।

अविनाश भनिने उपेन्द्र यादवको नेतृत्वमा मोर्चाका ११ जना नेता कार्यकर्ताहरु राजविराज स्थित प्रमुख जिल्ला अधिकारीको निवासमा हतियार सहित सार्वजनिक भएका हुन्। स्रोतका अनुसार पछिल्लो लामो समयदेखि उनीहरु सरकारी वार्ता टोलीको सम्पर्कमा रहेका थिए। गत असोज २६ गते सिराहाको लहानमा उक्त समुहले सरकारी वार्ता टोलीसँग एक चरणको वार्ता पनि गरिसकेको छ। सोहि वार्ताका क्रममा भएको ६ सुत्रीय सम्झौता अनुरुप मोर्चाले हतियार बुझाएको हो।

सरकारी वार्ता टोली समक्ष सार्वजनिक भएपछि स्थानीय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मोर्चाको तर्फवाट वार्ता टोलीका संयोजक अविनाश भनिने उपेन्द्र यादवले मोर्चाको संयोजक पदवाट जयकृष्ण गोईतलाई काराबाही गर्दै आफुहरु वार्तामा आएको प्रतिक्रिया दिए। सरकारी वार्ता टोलीसँगको वार्ता हालसम्म सन्तोषजनक देखिएपछि आफुहरुले पहिलो चरणमा केहि थान हतियार समेत बुझाएको उनले बताए। आफुहरु राजनीतिक एजेण्डा सहित सशस्त्र संघर्ष थालेको र सोहि एजेण्डा अनुरुप आफुहरु वार्तामा समेत आएको अविनाशको भनाई छ।

यता सरकारी वार्ता टोलीले मोर्चाले उठाएका मागहरु सरकारबाट पुरा गर्न सकिने खाले रहेको प्रतिक्रिया दिएका छन्। मोर्चाका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, जेलमा रहेका मोर्चा नेता तथा कार्यकर्ताको रिहाई, सेना प्रहरीमा मधेशी युवाहरुको भर्ती, मोर्चाका कार्यकर्ताहरुलाई रोजगारीको अवसर लगायतका ११ बुँदे माग मोर्चाले सरकार समक्ष राखेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको निवासमा सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे तथा सदस्यहरुको उपस्थितीमा मोर्चाले कटुवा पोस्तोल सानो १० थान, कटुवा पेस्तोल ठुलो १ थान तथा रिभल्वर तीन थान र त्यसमा लाग्ने गोली ९ थान बुझाएको एसपी राजेन्द्र विष्टले जानकारी दिए। 

अविनाश भनिने उपेन्द्र यादवसँगै मोर्चाका नथुनि यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानी प्रसाद अरगरिया, बद्री यादव, मोहम्मद नसिर, देवेन्द्र खडगा, संजयकुमार यादव, फुलकुमार यादव लगायतले समेत शान्तिपुर्ण जीवनयापन गर्ने प्रतिवद्धता जनाएको एसपी विष्टले वताए।

यता भुमिगत नेता जयकृष्ण गोईतले भने वार्तामा गएकाहरु मोर्चावाट कारबाही गरिएका भगौडाहरु रहेको वताएका छन्। उनीहरुले आर्थिक अनियमितता गरेको आरोपमा पहिला नै मोर्चावाट निलम्बनमा परिसकेको गोईतको प्रतिक्रिया छ। सञ्चारकर्मीसँगकाे टेलीफोन सम्पर्कमा गोईतले सरकारले वार्ता गर्न चाहेको भनिएपनि अहिले सम्म आफु समक्ष कुनै औपचारिक पत्र समेत प्राप्त नभएको बताए। आफुहरु संयुक्त राष्ट्र संघको मध्यस्ततामा वार्ताका लागि तयार रहेको भन्दै उनले वार्ताको वातावरण विश्वसनीय नबनेको जिकिर गरे। ‘वार्तामा गइसकेपछि पनि पक्रेर थुन्ने काम विगतमा भएको छ’, उनले भने, ‘यस्तो अवस्थामा कसरी वार्तामा वस्न सकिन्छ?’

प्रकाशित: २६ मंसिर २०७५ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App