२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

महासमिति बैठकपछि कांग्रेसमा नयाँ युग सुरु हुन्छ : नेता केसी

प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता केसी । तस्बिर : विनोद/नागरिक

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महासमिति बैठकपछि कांग्रेस संस्थागत संरचनाको नयाँ युगमा प्रवेश गर्ने बताएका छन्। उनले पार्टीलाई सामूहिक नेतृत्वमा जाने बताउँदै यसले पार्टीलाई नयाँ युगमा लैजाने बताएका हुन।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटका क्रममा नेता केसीले भने,‘पार्टीभित्र अब हुकुमी प्रवृति चल्दैन, सामूहिक नेतृत्व स्थापित हुन्छ।’ उनले पार्टी सभापतिलाई कमजोर बनाउने पक्षमा आफू नहरेको तर कसैको हुकुम मान्ने युगको भने अन्त्य भएको बताए। उनले पदाधिकारीहरू निर्वाचित हुने गरी विधान परिवर्तनको पक्षमा आफू रहेको प्रष्ट पारे।

पार्टी नीति र संस्थागत संरचनाका आधारमा चल्नुपर्ने भन्दै कसैको व्यक्तिगत इच्छाले लादिएको संगठनले काम गर्न नसक्ने उनको तर्क छ। उनले समकालिन नेताहरू कांग्रेसको नेतृत्वमा भएकाले अग्रजको आधारमा कसैको आदेश मान्नुपर्छ भन्ने नरहेको बताए। उनले आगामि मंसिर २८ देखि पुस ३ गतेसम्म चल्ने महासमिति बैठकले पार्टीलाई नयाँ जीवन र गतीमा लैजाने दावी गरे। उनले पार्टीभित्र आन्तरिक द्वन्द्व कायम रहेको स्विकार गर्दै यसको समाधानमा नेतृत्व लागिपर्ने बताए।

उनले कांग्रेसले हरेक परिवर्तनको नेतृत्व गर्दै आएको बताए। ‘हारजित भइरहँन्छ तर कांग्रेस जहिले पनि लोकतन्त्र रक्षाको पक्षमा छ’ उनले भने। उनले दुई तिहाई सरकारको नौं महिनाको उपलब्धि शुन्य भएको आरोप लगाए। संघीय गणतन्त्र ल्याएपनि यसको संस्थागत गर्ने काममा सरकार अलमलमा परेको नेता केसीको टिप्पणी छ। कांग्रेस अहिले आन्तरिक रुपमा पार्टीलाई बलियो बनाउने र संगठनलाई मजबुद बनाउनका लागि महासमिति बैठकमा केन्द्रीत भएकाले त्यसपछि दुई तिहाई सरकारको मनपरीतन्त्रलाई रोक्ने गरी सशक्त भूमिका निर्वाह गर्ने बताए।

पूर्वमन्त्री समेत रहेका केसीले सरकारको २० प्रतिशत समयअवधिसम्म कांग्रेसले प्रतिक्षा गरेकाले आलोचना धेरै नगरेको बताए। पार्टी सभापति शेरबहादुर देउवाले सरकारभन्दा पनि आफ्नो विरोधमा कांग्रेसका नेताहरू लागेको अभिव्यक्ति तर्फ इंगित गर्दै त्यसमा केहि कमजोरी भएको हुनसक्ने बताए। तर उनले सरकारको २० प्रतिशत समय सकिएपछि आलोचना गर्न उपयुक्त हुने बताए। कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठकलाई मान्ने गरिन्छ। अहिले नेताहरु विभिन्न गुटमा विभाजित भएर भेटघाटमा व्यस्त भएका छन्।

प्रकाशित: ८ मंसिर २०७५ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App