फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका विभिन्न राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
निर्वाचन आयोगका अनुसार सोमबारसम्म मा १८ वटा राजनीतिक दलका उम्मेदवारहरूले निवेदन पेश गरी नाम फिर्ता लिएका हुन्। सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालबाट २१, जनमत पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२, जनादेश पार्टी नेपालबाट ६, नेकपा (एमाले) बाट ५, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालबाट ४–४ जनाले नाम फिर्ता लिएका छन्।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उन्नत लोकतान्त्रिक पार्टीबाट २ २ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। यस्तै गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त नागरिक पार्टीबाट १–१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगकी सहप्रवक्ता सिता पुन मगरले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिने प्रक्रिया सोमबार नै सकिएको बताइन्। ‘उम्मेदवारी फिर्ता व्यक्ति स्वयं उपस्थित भएर गर्नुपर्ने व्यवस्था छ। स्वयं उपस्थित हुन नसक्ने अवस्थामा आयोगले तयार गरेको ढाँचाअनुसार वारेस मार्फत पनि नाम फिर्ता लिन आएका उमेदवारहरु रहेको छ,’ उनले भनिन् ।
सहप्रवक्ता पुन मगरका अनुसार आयोगले नाम फिर्ता लिएका उम्मेदवारबारे सम्बन्धित दलहरूलाई औपचारिक जानकारी गराउने र रिक्त भएको स्थानको पदपूर्ति गर्न दलहरूले पुस ३० गतेदेखि माघ २ गतेभित्र नयाँ उम्मेदवारको नाम बन्दसूचीमा पठाउनुपर्ने बताइन्।
आयोगले माघ ४ गते अन्तिम बन्दसूची सार्वजनिक गर्ने जनाएको छ।
प्रकाशित: २९ पुस २०८२ १३:२० मंगलबार





