२८ असार २०७७ आइतबार
राजनीति

भूमिगत जलस्रोतको भण्डारणमै राजधानी

धनगढी - भूमिगत जलस्रोतको भण्डार रहेको भावर क्षेत्रमा सुदूरपश्चिम प्रदेशको राजधानी बन्ने भएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। चुरेको टुप्पोमा वर्षा हुँदा पानी बिस्तारै बहँदै भावर क्षेत्रमा पुग्ने र भावर क्षेत्रमा पानी ‘रिचार्ज’ भई भण्डारण हुने भएकाले भावर क्षेत्र फँडानी भएमा पानी भण्डारण क्षेत्र नष्ट हुने भन्दै उनीहरूले चिन्ता गरेका हुन्।

जंगल मासेर भौतिक संरचना बनाउन नहुने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष कर्ण रावलले भने, ‘चुरे र भावर क्षेत्र त झनै संवेदनशील हो, यसलाई चलाउनु हुँदैन।’ भावर क्षेत्र मास्दा भूमिगत जलस्रोत नासिन गई तराई क्षेत्रमा खानेपानीको हाहाकार हुनसक्ने उनले बताए। ‘कहिले उद्योगका नाममा त कहिले राजधानीका नाममा वन क्षेत्र मास्नु हुँदैन,’ उनले भने, ‘वन क्षेत्र मासिएमा सबैभन्दा बढी समस्या विपन्न वर्गलाई पर्न जान्छ।’ वन क्षेत्रबाटै विपन्न वर्गले जीविकोपार्जन गरिरहेको उनको भनाइ छ। सरकारले एकलौटी रूपमा सामुदायिक वनमा संरचना बनाउन थालेकोमा विरोध गर्दै उनले भने, ‘सामुदायिक वनलाई दिएको अधिकारमाथि सरकारले हस्तक्षप गर्नुहुँदैन।’ कैलालीमा ४१ प्रतिशत वन क्षेत्र रहेको बताउँदै उनले भने, ‘विभिन्न बहानामा पटकपटक वन क्षेत्रमाथि आक्रमण हुँदै आएको छ, यो राम्रोा हैन।’

आफूहरू जलवायु परिवर्तनबाट हुने असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा चिन्तित रहेकै बेला भावर क्षेत्र मासिन नहुने उनको भनाइ छ। ‘दिनानुदिन वन जंगल मासिँदै गइरहेका बेला वन मासेर भौतिक संरचना बनाउँदा हामी वन जोगाउन लागिरहेकाहरू चिन्तित छौं,’ उनले भने, ‘संरचना बनाउनै परेमा पनि वातावरणलाई असर नपर्नेगरी बनाउनुपर्छ ।’ उनले सरकारले वन क्षेत्र नभएको खाली जमिन खोजेर संरचना बनाउनुपर्ने सुझाव दिए।

वन वातावरणका क्षेत्रमा कार्यरत वातावरणविद् एकराज सिग्देलले चुरे र भावर क्षेत्र वातावरण र जलस्रोतका हिसाबले निकै महत्वपूर्ण रहेको बताए। उनले भने, ‘चुरे क्षेत्रमा पानी पर्दा भावर क्षेत्रले सञ्चित गरेर तराईमा भूमिगत पानी पठाउने काम गर् ।’ भावर क्षेत्र नै विनाश भयो भने त्यसले वातावरण र भूमिगत जलस्रोतमा दूरगामी असर पर्ने उनले बताए। ‘पूर्वमा भावर क्षेत्र नाश हुँदा भूमिगत जलस्रोत सुक्नुका साथै बाढी पहिरोको भय देखिएकै छ,’ उनले भने,‘त्यसैले पश्चिममा पनि भएको भावर क्षेत्र बचाउनु जरुरी छ।’

प्रदेश सरकारले तोकेको स्थायी राजधानी स्थल वातावरणीय हिसाबले जंगल क्षेत्र भएको बताउँदै पूर्व वन अधिकृत रमेश चन्दले भने, ‘चुरे फेद र भावर क्षेत्रलाई विनास गर्दै लैजाने हो भने भोलिका दिनमा त्यसले नराम्रो स्थिति ल्याउने निश्चित छ।’ नेपालको भौगोलिक अवस्था सबैभन्दा माथि हिमाल, त्यसपछि महाभारत, चुरे क्षेत्र, भावर क्षेत्र हुँदै तराई क्षेत्र आउने भएकाले पनि सबै क्षेत्रको व्यवस्थापन गर्नका लागि भावर क्षेत्रलाई जोगाउनु उपयुक्त भएको उनको तर्क छ। ‘तराईमा भूमिगत जलस्रोत र बाढीपहिरो नियन्त्रणका लागि चुरे फेद र भावरले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भने, ‘चुरे र भावरलाई अहिले हामीले सखाप गर्न थाल्यौ भने भोलि तराई मरुभूमि बन्ने निश्चित छ ।’ चुरेमा पानी प-यो भने चुरेको टुप्पोबाट बिस्तारै सोस्दै गएर भावमा पुगेर स्टोर हुने गरेको बताउँदै उनले भने, ‘भावरमा स्टोर भएको पानी नै हो हामीले तराईमा हेन्डपम्पबाट निकाल्ने।’

तराईसँग जोडिएको चुरे र भावर क्षेत्र आफैमा संकटमा परेको बताउँदै डोटी बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा भूगोलविद् दिलानन्द जोशीले भने, ‘चुरे र भावर क्षेत्रमा संरचना बनाउनु भौगोलिक दृष्टिले उपयुक्त हुँदैन।’ चुरे र भावर क्षेत्र अतिक्रमण हुँदा तराई क्षेत्रमा अनिष्ट निम्तने खतरा बढी हुने उनी बताउँछन्। ‘गोदावरीको फेद चुरेको जरा हो, त्यसपछिको जंगल भनेको भावर हो,’ उनले भने, ‘त्यहाँ भौतिक संरचना बनाउँदा भूकम्पीयसँगै कमजोर धरातल भएकाले अत्यधिक जोखिम हुन्छ ।’ चुरे र भावर क्षेत्रलाई बचाउनुपर्ने ठाउँमा प्रदेश सरकारले चुरे र भावर मासेर संरचना बनाउनु गलत भएको उनी बताउँछन् । समयमै कैलाली कञ्चनपुरको चुरे र भावर क्षेत्र नजोगाए अबको १०÷१५ वर्षमै तराईमा उच्च तापक्रम बढ्ने र बस्न नसकिने स्थिति आउन सक्ने उनले बताए।

प्रकाशित: १६ आश्विन २०७५ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App