१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परिपक्व प्रस्ताव ल्याउन कुलपतिको चेतावनी

काठमाडौं - कृषि तथा वन विश्वविद्यालयको शुक्रबार बसेको सातौं सभामा उपकुलपति ईश्वरीप्रसाद ढकालले पेस गरेको प्रस्ताव विश्वविद्यालयको हितमा नभएका भन्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकृत गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपकुलपति ढकालले ८ वटा प्रस्ताव पेस गरेका थिए।

ओलीले प्रस्ताव अपरिपक्व र विश्वविद्यालयको हितविपरीत भएको भन्दै आइन्दा यस्ता प्रस्ताव नल्याउन चेतावनी दिए । प्रधानमन्त्री ओलीले विश्वविद्यालय र कुलपतिलाई बदनाम गर्ने प्रस्ताव सभामा नल्याउन समेत चेतावनी दिएको सभामा सहभागी एक सदस्यले बताए।

उपकुलपतिबाट पेस भएका आठवटा प्रस्तावमध्ये पाँचवटा बजेटसम्बन्धी थिए। बाँकी तीनवटामा नियमावली संशोधन, धुर्मुुस सुन्तली फाउन्डेसनबाट निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पशु विज्ञान कलेजअन्तर्गत रहेको पशु फारामको २० बिघा जग्गा उपलब्ध गराउने र विदेशी पिआरधारीले विश्वविद्यालयमा जागिर खान नपाउने प्रस्ताव थिए। यी सबै प्रस्ताव ओलीको असहमतिपछि खारेज भएका छन्।

विश्वविद्यालयको जग्गा अरुलाई दिनु गैरकानुनी र विश्वविद्यालयलाई नै बदनाम गराउने काम भएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेको सभाका सदस्य डा. ईश्वरीप्रसाद कडरियाले बताए। उनले भने, ‘कुलपतिज्यूले विश्वविद्यालयका पदाधिकारीलाई अर्को सभामा प्रस्ताव पेस गर्दा परिपक्वतासाथ पेस गर्न निर्देशन दिनुभयो।’

प्रकाशित: ३० भाद्र २०७५ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App