७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

जुम्ला घटनाबारे बयान लिँदै समिति

जुम्ला- चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा जुम्ला अस्पतालमा भएको घटनाको छानविन गर्न गठित कर्णाली सरकारको कार्यदलले दर्जन बढी व्यक्तिसंग बयान लिएको छ। घटनाको प्रत्यक्षदर्शी, सञ्चारकर्मी, र सरोकारवाला निकायसंग व्यक्तिगत रुपमा लिखित बयान लिएको हो।

कार्यदलका संयोजक कलानिधी पौडेलका अनुसार प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले, रजिष्टार विश्वराज काफ्ले,मेडिकल डाईरेक्टर डा. पुजन रोकाया, जिल्ला स्वास्थ्य प्रमुख अंगदवहादुर शाही, स्वास्थ्य कार्यालय जुम्लाका किरण कुमार शर्मा,खगेन्द्र उपाध्याय,उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, वन अधिकृत भरत बुढ्थापा लगायतसंग लिखित बयान लिइएको हो।

सबै भन्दा लामो बयान प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेको लिइएको थियो। उनलाई डा. गोविन्द केसीलाई जुम्ला बोलाएको आरोप, अस्पताल तोडफोड, नियन्त्रणमा खेलेको भुमिका, स्थानीय प्रहरी, प्रशासन संगको समन्वय, अस्पतालमा बाहिरको मान्छेको प्रवेश, मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई डा. केसीको अनसन स्थल प्रवेशमा रोक,नेतृत्व र व्यवस्थापनमा देखिएको कमजोरी,डा. केसी जुम्ला बस्दासम्म सरकारी उच्च अधिकारीसंगको समन्वय र सहकार्य,कर्मचारी, विद्यार्थी र बाहिरका मान्छेको घटनामा संलग्नता लगायतका विषयमा प्रश्न गरिएको थियो। आगो नियन्त्रण सिलिण्डर, र फर्निचर तोडफोड गर्दाको अवस्था देखि डा. केसीको उपचारमा संलग्न चिकित्सकले उपचार गर्न सक्दैनौ भन्नेलाई कारबाही गरे नगरेको बारेमा बयान लिइएको थियो। उपकुलपति वाग्लेलाई १० वटा प्रश्न सोधिएको थियो।

यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई जिल्लाको शान्ति सुरक्षा, केन्द्र, प्रदेश र जिल्लासंगको समन्वयकारी भूमिकामा केन्द्रित रहेर बयान लिइएको थियो। प्रतिष्ठानका रजिष्टार काफ्लेलाई आर्थिक तथा प्रशासनिक रुपमा खेलेको भुमिका र अनशन अवधीमा जिल्लाबाट बाहिरिनु र काठमाडौं पुर्‍याइसकेपछि फर्कनुको बारेमा बयान लिइएको थियो। साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको कार्यकारी परिषदले गठन गरेको उच्च स्तरीय छानविन समितीले काम गर्न नसक्नुको बारेमा पनि प्रश्न गरिएको थियो।

घटनाको वास्तविक अवस्था, जानीजानी नेतृत्व लिइएको र तोडफोड गर्ने विद्यार्थीलाई नियन्त्रणमा लिए नलिएको बारेमा मेडिकल डाईरेक्टर डा. पुजन रोकायासंग बयान लिइएको थियो। संयोजक पौडेलले भने, 'अन्य प्रत्यक्षदर्शीसंग घटनाको वास्तविक अवस्थाका बारेमा बयान लिइएको थियो। घटनाको वास्तविक अवस्था बुझ्न विभिन्न कर्नरबाट बयान लिएका छौँ', उनले भने,‘प्रत्यक्षदर्शीवाट बढी बयान लिईराखेका छौँ।'

विहान ८ वजेदेखि छानविनको कार्य थालनी भएको थियो। घटनाको बारेमा एकरुपता होस भनेर विभिन्न व्यक्तिसंग लिखित रुपमा बयान लिने काम भईरहेको छ। कार्यको जिम्मेवारी, सम्वद्धताका आधारमा प्रश्न  तयारी गरिएको थियो। प्रतिष्ठानको ऐन, कानुन मागेर अध्यायन गर्ने कार्य भईरहेको छ। 

 

प्रकाशित: ३ भाद्र २०७५ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App