१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

यातायात सेवा, जलविद्युत्, साक्षरता र पर्यटकीय हिसाबले धनी

प्रदेश ३ को नीति तथा योजना आयोगद्वारा प्रदेशको वस्तुस्थिति विवरण २०७५ सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीलगायत। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर - प्रदेश ३ यातायात सेवा, जलविद्युत्, उद्योग, साक्षरता र पर्यटकीय हिसाबले प्रदेशमै धनी र समृद्ध प्रदेशका रूपमा रहेको पाइएको छ। प्रदेश ३ को नीति तथा योजना आयोगद्वारा सार्वजनिक गरेको पहिलो वस्तुस्थिति विवरण २०७५ मा यस्तो उल्लेख छ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र केन्द्रिय राजधानी काठमाडौं पनि यसै प्रदेशमा पर्दछ। प्रदेशमा अन्य ५ विमानस्थल रहे पनि लाङ्टाङ्, जिरी र मेघौली विमानस्थल सञ्चालनमा छैनन् भने रामेछाप विमानस्थल पनि नियमित सञ्चालनमा नरहेको विवरणमा उल्लेख छ । त्यस्तै प्रदेशका सबै जिल्ला सदरमुकामलाई कालोपत्रे सडकले जोडेको छ। जिल्ला सदरमुकामदेखि स्थानीय तहसम्म कुनै न कुनै किसिमको सडकले छोएको छ।

विश्व सम्पदाका हिसाबले पनि प्रदेश ३ देशमै धनी रहेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत नेपालमा १० मध्ये ८ वटा सम्पदा यस प्रदेशमा पर्दछन् । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्रका हिसाबले पनि प्रदेश ३ देशमै महत्वपूर्ण रहेको छ। नेपालभर रहेका १२ राष्ट्रिय निकुञ्जमध्ये यस प्रदेशमा चितवन, लाङ्टाङ्, शिवपुरी र पर्सा गरी ४ राष्ट्रिय निकुञ्ज रहेका छन्। त्यस्तै राष्ट्रिय निकुञ्जमध्ये चितवन राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिकोणले देशकै प्रमुख गन्तव्य रहेको छ।

साक्षरता दरमा पनि नेपालको साक्षरता दरभन्दा प्रदेशको ८ दशमलव ९१ प्रतिशतले बढी देखिन्छ। राष्ट्रिय साक्षरता दर ६५ दशमलव ९४ प्रतिशत मात्र रहेको छ भने प्रदेश ३ को साक्षरता दर ७४ दशमलव ८५ प्रतिशत रहेको छ। तीमध्ये प्रदेशको साक्षरता दर महिला ६७ दशमलव ०४ र पुरूष ८२ दशमलव ८२ प्रतिशत रहेको छ।

९ परिच्छेद रहेको वस्तुस्थिति विवरणमा मानव विकास सूचकांकमा पनि प्रदेश ३ सबैभन्दा उच्च स्थानमा रहेको उल्लेख छ । मानव विकास प्रतिवेदन २०१४ अनुसार नेपालको सूचकांक शून्य दशमलव ४९० रहेकोमा प्रदेशको सूचकांक शून्य दशमलव ५५८ छ । यो सबैभन्दा उच्च हो। मानव विकास सूचकांकमा नेपालका १० उत्कृष्ट जिल्लामध्ये प्रदेशका पाँच जिल्ला क्रमशः काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र काभ्रेपलाञ्चोक रहेका छन्।

निर्माणाधीन विद्युत् आयोजना र विद्युत् उत्पादन क्षमताका हिसाबले पनि प्रदेश ३ देशमै अब्बल रहेको छ। देशभर ४ हजार ६ सय ४१ मेगावाट विद्युत् उत्पादन गर्न निर्माण भइरहदा प्रदेशमा ५० प्रतिशत बढी अर्थात् २ हजार ३ सय २६ दशमलव ६ मेगावाटका आयोजना निर्माण भइरहेको तथ्यांक छ । २०७५ वैशाखसम्ममा नेपालमा कुल १ हजार ६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन भएकोमा प्रदेश ३ मा ३ सय ४० दशमलव ३ मेगावाट उत्पादन भइरहेको छ।

औद्योगिक गणना २०६९ का अनुसार तुलनामा सबैभन्दा धेरै उद्योग प्रदेश ३ मै रहेको देखिन्छ । प्रदेशमा ९ सय ६५ वटा उद्योग रहेका छन् यी उद्योगमा ४९ हजार १ जनाले जनाले रोजगारी पाएका छन् । नेपालमा रहेका ११ औद्योगिक क्षेत्रहरूमध्ये बालाजु, पाटन, भक्तपुर र हेटौंडा औद्योगिक क्षेत्र गरी ४ वटा औद्योगिक क्षेत्र यस प्रदेशमा रहेका छन् । हेटौडाको मयूरधाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिबेदन(डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन(इआइए)को क्रममा छ।

२० हजार ३ सय वर्ग किलोमिटर क्षेत्रफल रहेको प्रदेश ३ मा समुद्र सतहबाट १ सय ४१ मिटरदेखि ७ हजार २ दुई २७ मिटरको उचाइसम्म फैलिएको छ। १३ जिल्ला रहेको प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी १ सय १९ स्थानीय तह रहेका छन्।

प्रदेश ३ को नीति तथा योजना आयोगद्वारा प्रकाशित प्रदेशको वस्तुस्थिति विवरण २०७५ मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक गरेका हुन्। कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीहरु लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: २४ श्रावण २०७५ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App