८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

खुम्चिँदो नागरिक अधिकारप्रति अमेरिकी चिन्ता

काठमाडौं - अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालको खुम्चिँदो नागरिक अधिकारप्रति चिन्ता व्यक्त गरेकी छन् ।

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी श्रीलंकाको राजदूतमा मनोनयन भएकी राजदूत टेप्लिजले सम्पादकहरूको एक समूहसँग मंगलबार आफ्नो निवास कमलादीमा कुरा गर्दै नेपाल सरकारबाट आएका धारणा र सरकारले छलफल गरिरहेका कानुनबारे चासो व्यक्त गरेकी हुन् । ‘अनलाइन मिडियासम्बन्धी निर्देशिकाका केही प्रावधान धेरै उत्साहप्रद छैनन्,’ उनले भनिन्, ‘मिडियामाथि नियन्त्रण गर्नुपर्ने धारणामा समस्या छ र स्वनियन्त्रण (सेल्फ सेन्सरसिप) को बढ्दो अभ्यास स्वतन्त्र समाज निर्माणका निम्ति सहयोगी हुन सक्दैन ।’

उनले अगाडि भनिन्, ‘सरकारले कानुन, नियम र नीतिको अन्तरवस्तुमा ध्यान पुर्याउनु आवश्यक छ । नागरिक समाजको अधिकार र मिडिया स्पेस हनन हुन सक्ने देखिन्छ । म अनलाइन मिडिया निर्देशिकाप्रति चिन्तित छु । यसले विशेषगरी नयाँ मिडियालाई स्वतन्त्र रूपमा लेख्ने क्षमतामा प्रभाव पार्न सक्छ । यो प्रस्तावित कानुन समस्याग्रस्त छ ।’

यस्ता सामान्य पक्षले नागरिक अधिकारमा अवरोध ल्याउन सक्नेसमेत राजदूत टेप्लिजले बताइन् । उनले सरकारलाई मिडिया स्पेसको व्यवस्थापन र नियन्त्रणबीचको भेद छुट्याउनसमेत आग्रह गरिन् ।संक्रमणकालीन न्यायबारे चर्चा गर्दै राजदूत टेप्लिजले भनिन्, ‘नेपालले द्वन्द्वका घाउमा मलम लगाउनुपर्छ र संक्रमणकालीन शान्ति प्रक्रियाले पीडितका आवाजलाई सुन्नु आवश्यक छ । सबैभन्दा महत्वपूर्ण पक्ष, सत्य तथा मेलमिलाप र बेपत्ता आयोगमा रहेका साठी हजारभन्दा बढी मुद्दाको अनुसन्धान गर्नु र त्यसलाई यथोचित समाधानका लागि देशले प्रक्रियाको स्वामित्व लिनुपर्छ।’

संक्रमणकालीन न्याय प्राप्ति, अर्थतन्त्रमा सशक्त कदम चाल्न आग्रह राजदूत टेप्लिजको आग्रह

उनले यहाँको अर्थतन्त्रदेखि संक्रमणकालीन न्यायसम्मका क्षेत्रबारे धारणा व्यक्त गरिन् । उनले नेपाललाई सन् २०३० सम्ममा मध्य आय मुलुकमा पुग्न आर्थिक प्रणालीमा वृद्धि मात्र होइन रूपान्तरणकारी परिवर्तनसमेत आवश्यक भएको बताइन् ।राजदूत टेप्लिजले डिजिटल, निर्माण र निर्यातयोग्य उच्च मूल्यका वस्तु उत्पादनमा नेपाललाई अवसर भएको बताइन् । उनले इकमर्सलाई प्रोत्साहित गर्न वित्तीय पूर्वाधार आवश्यक रहेकोमा जोड दिइन् ।‘केही अमेरिकी कम्पनीहरू यहाँ आफ्नो व्यवसाय थाल्न चाहन्छन् तर कम्पनी दर्ताका लागि एकद्वार नीति र पारदर्शी व्यावसायिक अभ्यासको थालनी हुनु आवश्यक छ,’ उनले भनिन्।

उनले नेपालले ओपन गभर्मेन्ट पार्टनरसिप (ओजिपी) को साझेदार हुनुपर्ने आग्रह गर्दै यसले देशमा पारदर्शी संयन्त्र निर्माण र व्यवसायका निम्ति सहज वातावरण कायम गर्न मद्दत पुग्ने बताइन् ।अर्थतन्त्रका क्षेत्रमा महिलाको बृहत्तर संलग्नताको अवसर रहेको समेत राजदूत टेप्लिजले चर्चा गरिन् । महिलालाई आवाज दिन आग्रह गर्दै उनले भनिन्, ‘उनीहरूलाई टेबुलमा एउटा सिट दिएर मात्र पुग्दैन ।’अमेरिकी सरकार मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा भएको प्रगतिप्रति सन्तुष्ट रहेको स्पष्ट गर्दै राजदूत टेप्लिजले परियोजना सुरु भएपछि समयमै पूरा हुनेमा आशा व्यक्त गरिन् ।

नेपालबाट फर्कंदै गर्दा लैजाने सम्झनाबारे सोधिएको प्रश्नमा राजदूत टेप्लिजले भनिन्, ‘आभारी छु, प्रभावित भएकी छु र आशावादी छु ।’ राजदूतका रूपमा उनले नेपालका ४० जिल्ला भ्रमण गरेकी छन् । उनले नागरिक समाजका अनेकन् व्यक्तिसँग अन्तरक्रिया गर्नुका साथै यहाँ रहँदा सामयिक विषयमा नागरिकलगायतका अखबारमा लेखेकी समेत छन् । उनले यहाँका सबैजसो चाडपर्वलाई मनाउँदै तिनका बारेमा सामाजिक सञ्जालमा तस्बिरसहित लेख्ने गरेकी पनि थिइन् ।

प्रकाशित: १६ श्रावण २०७५ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App