१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

काठमाडौं – पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ। 

बिहीबार बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिइन्। उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ। उपसमितिले प्रतिवेदन बुझाएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिइने छ। 

क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार राजनीतिक तथा शैक्षिक उपसमितिमा अनेरास्ववियुबाट महेश बर्तौला, शैलेश लामा, ओसिम आलम, मकर खड्का र झपीन्द्र खत्री तथा क्रान्तिकारीबाट तिलकराज भण्डारी, पञ्चा सिंह, रविकिरण यादव, मिलन एमसी र तुकमान महरा छन्। विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुबाट रश्मी आचार्य, सुनिता बराल, आरसी लामिछाने र सुदेश पराजुली तथा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम र दीपेश पुन रहेका छन्। 

संगठन समायोजन उपसमितिमा अनेरास्ववियुबाट ऐन महर, आरती लामा, समिक वडाल र सुदर्शन शिवाकोटी तथा क्रान्तिकारीबाट उत्तम अधिकारी, दीपक जोशी, इन्द्र भुसाल र जिपी मैनाली रहेका छन्। 

कार्यदलमा तत्कालीन नेकपा एमालेबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा अनेरास्ववियुका इन्चार्ज रवीन्द्र अधिकारी र अनेरास्ववियुका अध्यक्ष तथा सांसद नवीना लामा एवम् क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ र क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल रहेका छन्। पार्टी एकता भएको तीन महिनाभित्र भातृसंगठन एकता गर्ने नेकपाले जनाएको थियो।    (रासस)

प्रकाशित: १० श्रावण २०७५ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App