विश्व प्रजातान्त्रिक युवा महासंघ संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यो संयुक्त राष्ट्रसंघ स्थापनाको १६ दिनपछि विश्वभरका युवाहरुमा शान्ति, स्थायीत्व तथा मित्रता कायम गर्ने र अन्याय, बेरोजगारी तथा साम्राज्यवादका विरुद्ध लड्ने उद्देश्यले सन् १९४५ मा स्थापना गरिएको थियो।निकोलास पापाडिमीट्रियु, विश्व प्रजातान्त्रिक युवा महासंघका वर्तमान सभापति हुन्। हाल उनी विश्व प्रजातान्त्रिक युवा महासंघको साधारण सभा बैठक–२०१८ मा सहभागिता जनाउन नेपाल आएका छन्। यही अवसरमा रिपब्लिका अनलाइनका कुलचन्द फोम्बोले उनीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
तपार्इंको परिचय आफ्नै शब्दमा व्यक्त गर्नुस न ?
म साइप्रसको नागरिक निकोलास पापाडिमीट्रयू, विश्व प्रजातान्त्रिक युवा महासंघको सभापति। साइप्रसमा एकीकृत प्रजातान्त्रिक युवा संघबाट विश्व प्रजातान्त्रिक युवा महासंघमा प्रतिनिधित्व गर्दछु। एकीकृत प्रजातान्त्रिक युवा संघ साइप्रसका मजदुरहरुको प्रगतिशील दलसँग आबद्ध छ।
तपार्इं नेपाल कहिले आउनुभयो?
म विश्व प्रजातान्त्रिक युवा महासंघको साधारण सभामा भाग लिन मे २१ मा नेपाल पुगें।
नेपालमा युवाहरुका विषयमा के–कस्ता समस्याहरु देख्नुभयो? ती समस्याको समाधानका लागि विश्व प्रजातान्त्रिक युवा महासंघले के पहल गर्छ?
नेपालमा हामीले देखेको मुल समस्या भनेको बेरोजगारी हो। उनीहरुले रोजगारीका लागि दृढताका साथ सामूहिक संघर्ष गरिरहेका छन्। नेपाली युवाहरुले अन्तर्राष्ट्रिय भातृत्व सुधार तथा विश्व शान्ति र स्थायित्वका लागि ठूलो योगदान पु-याएका छन्।
हामीले के बुझेका छौं भने नेपाली युवाहरुले बहुमत प्राप्त वर्तमान सरकारका क्रियाकलापहरुलाई नजिकबाट नियालिरहेका छन् र उनीहरुले सरकारबाट युवा केन्द्रित नीति तथा कार्यक्रमको अपेक्षा पनि गरेका छन्। मैले नेपाली युवाहरुको आँखामा केही गर्ने अभिलाषा र अदम्य साहस देखिरहेको छु।
अहिले मुलुकका दुई ठूला कम्युनिष्ट पार्र्टीहरु एकताको सुत्रमा बाँधिएका छन्, जसले युवाहरुमा सरकारले मुलुकको विकास र रोजगारीका लागि केही नयाँ कामहरुको थालनी गर्छ भन्ने विश्वास पलाएको छ।
वर्तमान सन्दर्भमा नेपाललाई विकासशील राष्ट्रको रुपमा स्थापित गर्न सरकार पनि लागिपरेको देखिन्छ। मुलुकमा भौतिक पूर्वाधार, जनताका आधारभुत आवश्यकताको परिपूर्ति गर्ने र मुलुकलाई प्रगति तथा समृद्धिको बाटोमा अघि बढाउने भन्ने आशा युवाहरुमा जागेको छ।
एक्काइसौं शताब्दीमा विश्वका शक्तिशाली राष्ट्रहरूले प्रत्यक्ष सैनिक हस्तक्षेप भन्दा पनि कुटनीतिक सम्बन्ध स्थापित गरी सार्वभौम राष्ट्रहरूका प्राकृतिक स्रोत र साधनमाथि ब्रह्मलुट गरेको पाइन्छ। यो विषयलाई कसरी हेर्नु हुन्छ ?
प्रत्यक्ष सैनिक हस्तक्षेप छैन भन्ने विषयमा मेरो विमति छ। अझै प्रत्यक्ष सैनिक हस्तक्षेप हुने गरेका छन्। हामीसँग सिरिया, प्यालेस्टिनी, इराक र इरानमा भएगरेका गतिविधि सैनिक हस्तक्षेपका प्रत्यक्ष प्रमाणहरु हुन्।
इराकमा अमेरिकाद्वारा सैनिक कारबाही भएको धेरै भएको छैन्। त्यसैले अझै पनि प्रत्यक्ष सैनिक हस्तक्षेप हुने गरेको छ। साम्राज्यवादी राष्ट्रहरुसँग लामो समयको अनुभव छ। उनीहरू प्रत्याक्रमण तथा कसरी सार्वभौम राष्ट्रका प्राकृतिक स्रोतमाथि धावा बोल्ने र ब्रम्हलुट गर्ने भन्ने कुरामा निपूर्ण हुन्छन्। आफ्नो स्वार्थ पूरा गर्न साम्राज्यवादी राष्ट्रहरुले आर्थिक नाकाबन्दी लगाउनेदेखि देशलाई विभाजन गर्ने हर्कत गर्न पछि पर्दैनन्। देशभित्रको कुनै एक समूहलाई हातमा लिएर विभाजन ल्याई स्रोत साधन हड्प्न उद्दत हुन्छन्।
त्यसकारण, साम्राज्यवादी राष्ट्रहरुले प्रयोग गर्ने माध्यम र प्राकृतिक स्रोतमाथि ब्रम्हलुट गर्ने तरिकाको बारेमा सचेत भई यसको सुक्ष्म अध्ययन गर्ने दायित्व हाम्रो हो। त्यसो त हामीले दुई पक्षीय करार वा सन्धि भएको पनि पाएका छौं, जसले गर्दा दुवै पक्ष (लगानी गर्ने देश र प्राकृतिक स्रोत सम्पन्न देश) लाभान्वित हुन्छन्। करार वा सन्धि जे भएतापनि लाभांश भने त्यही देशका जनता र देश हुनुपर्छ भन्ने जानकारी गराउने जिम्मेवारी हाम्रो हो।
हालै अमेरिका र उसका नेटो सम्बद्ध राष्ट्रहरूले सिरियामाथि हमला गरे भने इजरायलले प्यालेस्टाइनमाथि आक्रमण ग-यो। आक्रमणमा केटाकेटी र नागरिकहरुको ज्यान गयो। विफ्डीले आक्रमण नियन्त्रण गर्न के प्रयास ग-यो?
सर्वप्रथम आक्रमणको समाचार सुन्ने बित्तिकै हामीले आक्रमणको निन्दा गर्दै संसारैभरी विज्ञप्ति जारी ग-यौँ। त्यसैबीच हामीले सिरियाली तथा प्यालेस्टिनी नागरिकप्रति समवेदना तथा ऐक्यबद्धता जनायौं। त्यसपछि हामीले विफ्डी सम्बद्ध सदस्य तथा कार्यकर्तालाई अमेरिकी दूतावास अगाडि प्रदर्शन र धर्ना दिन निर्देशन दियौं। यसरी हामीले सिरियामा लामो समयदेखि अपराध, हिंसा व्याप्त छ भन्ने कुराको सन्देश जारी ग-यौं। यस्तै घटना प्यालेस्टाइनमा पनि भयो। हामीले हाम्रा कार्यकर्तालाई प्यालेस्टिनी नागरिकको मुक्तिको निम्ति विश्वभरी नै जनचेतना जागरण अभियान जारी गर्न निर्देशन दियौं।
विशेषगरी प्यालेस्टिनी नागरिकको मुक्तिको खातिर जारी समस्यालाई विशेष प्राथमिकता दिंदै विश्वभरी हाम्रा कार्यकर्तालाई सडक प्रदर्शन तथा विश्वभरी रहेका अमेरिकी दूतावास अगाडि प्रदर्शन र धर्ना दिन जरुरी छ, ताकी प्यालेस्टिनी–इजराइलको समस्या समाधान शान्तिपूर्ण ढङ्गबाट बाहेक अर्को उपाय छैन्।
एकातिर इरान र उत्तर कोरियाले आणविक निःशस्त्रीकरणलाई आफ्नो सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप ठान्छन् भने अन्तर्राष्ट्रिय समुदाय भने यसको विपक्षमा उभिएको छ र उनीहरूलाई अस्त्रविहिन बनाउन प्रयासरत छ। यसबारे तपाईंको राय?
विश्व आणविक निःशस्त्रीकरणको पक्षमा कुरा गरौं। उत्तर कोरियाको निःशस्त्रीकरणको बारेमा कुरा गर्दा हामी एकपक्षीय ढंगले बोल्नु हुन्न। अमेरिकाले उत्तर कोरियाले आणविक अस्त्र बन्द गर्नुपर्छ भन्दा त्यसको विरोध गर्नु जायज हुन्न। तर यसो भन्दै गर्दा उसले नेटो सैनिक दक्षिण कोरियामा राखेर युद्ध अभ्यास गर्नु न्यायसंगत कुरा हुँदैन्।
यस्तो कार्य दुई देशबीचको सम्बन्धलाई शान्तिपूर्ण समाधान गर्ने प्रयासमा बाधक बन्छ। निःशस्त्रीकरण अभियानलाई विश्वव्यापी रुपमै अघि बढाउंदै यस्तो संयन्त्रको निर्माण गर्न जरूरी छ, ताकी कुनै पनि राष्ट्रले कुनै पनि बहानामा आणविक अस्त्र राख्न नपाओस, किनकी आणविक अस्त्रले मानव संहार गर्न सक्छ।
विफ्डी स्थापना भएको पनि करिब ७३ वर्ष भइसक्यो। यो संस्था निश्चित उद्देश्य लिएर नोभेम्बर १०, १९४५ मा स्थापना भएको थियो। कति लक्ष्यहरू प्राप्त भए र बाँकी लक्ष्य कसरी प्राप्त गर्ने?
हामीले आफ्नो लक्ष्य प्राप्ती गरिरहेका छौं। अब विश्वव्यापी रुपमा युवाहरूबीच शान्ति, मित्रता र ऐक्यबद्धताको सिद्धान्तमा टेकेर एकता कायम गराउँदै साम्राज्यवादलाई सधैंका लागि अन्य गर्न जरुरी छ।
अन्त्यमा, नेपाली युवाहरूलाई के सन्देश दिन चाहनु हुन्छ?
नेपाली युवाहरूबीच एकता कायम हुन जरुरी छ। एकजुट भई सरकारसमक्ष आफ्नो अधिकार सुनिश्चित गर्न नीति निर्माणका प्रस्तावहरू लैजान राम्रो हुन्छ। सधै चनाखो भई नेतृत्वदायी भूमिका निभाउँदै शान्ति, मित्रता र ऐक्यबद्धताको सिद्धान्तमा टेकेर साम्राज्यवादलाई सदाका निम्ति अन्त्य गर्न सल्लाह दिन्छु।
प्रकाशित: १४ जेष्ठ २०७५ ११:०३ सोमबार