२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनकपुरमा मोदीकाे दुई घन्टा, यस्ता छन् कार्यक्रम

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार जनकपुर अवतरण गर्ने तयारी हुँदैगर्दा स्थानीयमा हर्षोल्लासको वातावरण छाएको छ । जनकपुरलगायत प्रदेश २ का आठै जिल्लाका हजारौं नागरिकले स्थानीय बाह्रबिघा मैदानमा आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री मोदीको भव्य स्वागत गर्ने तयारी छ। स्वागतका लागि एक सातायता यहाँका नागरिक स्वतस्फूर्त नगरको सरसफाइ तथा साजसज्जाको काममा जुटिरहेका छन्।

मोदीको यो भ्रमणले मुख्यतः दुई कारणले विशेष महत्व पाइरहेको छ। पहिलो भारतीय प्रधानमन्त्रीले इतिहासमै पहिलोपटक राजकीय भ्रमणका क्रममा देशको राजधानी बाहिर ओर्लदै छन्। जनकपुरको सम्बोधनमा मोदीले के बोल्ने हुन् त्यो मुख्य चासोको विषय बनेको छ। अर्को, प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेको डेढ महिना नबित्दै मोदीको नेपाल भ्रमण हुँदैछ। संविधान जारी गर्ने अन्तिम तयारी चलिरहेको बेलादेखि भारतीय सरकारले देखाएको व्यवहारसँग रुष्ट नेपाल सरकारका उच्च पदाधिकारी मोदीप्रति कसरी एकाएक यतिधेरै सकारात्मक भए भन्ने अर्को चासो बनेको छ। ‘नेपालको मन जित्नेगरी त्यस्तो के सन्देश लिएर आउँदैछन् मोदी,’ चिया पसलदेखि सामाजिक सञ्जालको भित्तामा यही जिज्ञासा व्यपाप्त छ।

संविधान जारी गर्ने अन्तिम तयारी चलिरहेको बेलादेखि भारतीय सरकारले देखाएको व्यवहारसँग रुष्ट नेपाल सरकारका उच्च पदाधिकारी मोदीप्रति कसरी एकाएक यतिधेरै सकारात्मक भए भन्ने अर्को चासो बनेको छ। ‘नेपालको मन जित्नेगरी त्यस्तो के सन्देश लिएर आउँदैछन् मोदी,’ चिया पसलदेखि सामाजिक सञ्जालको भित्तामा यही जिज्ञासा व्यपाप्त छ।

छ महिने मधेस आन्दोलनका क्रममा भारतले गरेको नाकाबन्दीका कारण नेपाल सरकार मात्र होइन सम्पूर्ण नेपालीको मन दुखेको थियो। भारत सरकारप्रति नकारात्मक सोचको विकास भएको थियो। अहिले तिनै भारतीय सरकारका प्रमुखलाई नेपालमा नागरिक अभिनन्दन गरिँदैछ। जनकपुर तथा काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम सार्वजनिक भएपछि नेपाल सरकारको नेतृत्व गर्ने दलकै अगुवा नेताहरूले असन्तुष्टि जाहेर गर्न थालेका छन्।

त्यसकै प्रभावले हुनसक्छ प्रदेश दुईमा सत्तापक्ष तथा प्रमुख प्रतिपक्षीको दाबेदार कांग्रेसले उनको स्वागतका लागि प्रदेशभरका नेताकार्यकर्तालाई औपचारिक रूपमै आह्वान गरिरहँदा यहाँ एमाले भने मौन छ।

विकासका दृष्टिकोणले जनकपुरमा रामायण सर्किटको घोषणा र काठमाडौंमा अरुण तेस्रो जलविद्युत्को शिलान्यास गर्ने कार्यक्रम महत्वपूर्ण देखिन्छ। यीबाहेक मोदीले थप के–के घोषणा गर्नेछन् भन्ने आम जिज्ञासा भए पनि त्यो गर्भमै छ। जनकपुरको खुल्लामञ्च बाह्रबिघा मैदानमामोदीले प्रदेशवासीलाई गर्ने सम्बोधन राष्ट्रिय र अन्तराष्ट्रिय चासोको विषय बनेको छ।

मोदीको स्वागतका लागि बिहीबार बिहान नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका गरी करिब एक हजारभन्दा बढी सुरक्षाकर्मी, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू, विद्यालय र कलेजका विद्यार्थी, शिक्षक एवं नागरिक समाजका अगुवाहरूले संयुक्त रूपमा सरसफाइमा भागलिए। उनीहरूले जानकीमन्दिर, बाह्रबिघा तथा विमानस्थलदेखि मोदीले यात्रा गर्ने प्रमुख सडकखण्डमा सफाई गरेको मुख्यमन्त्री राउतले बताए । मोदीको स्वागतका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको बताउँदै उनले भने, ‘मौसमले केही असहयोग गरे पनि हामीले पाहुनाको स्वागतका लागि कुनै कमजोरी बाँकी राखेका छैनौं।’ मोदीको स्वागतका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा स्थानीय नागरिक समाज एवं संघसंस्थाले संयुक्त रुपमा तयारी गरिरहेको उनले बताए।

जनकपुरमा मोदीले २ घन्टा दश मिनेट खर्चने
भारतीय सरकारका तर्फबाट वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत बीसी प्रधानले बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गरी मोदीको जनकपुर भ्रमण तालिका सार्वजनिक गरेका छन्। उनकाअनुसार मोदीले जनकपुरमा जम्मादुई घन्टा १० मिनेट खर्चिने छन्। शुक्रबार बिहान१०ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने मोदी १०ः३० बजेसम्म जानकी मन्दिर पुग्नेछन्। त्यहाँ प्रधानमन्त्री ओलीले मोदीलाई स्वागत गर्नेछन्। विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई स्वागत गर्नेछन्।

मन्दिरमा पूजापाठ सकेर प्रधानमन्त्रीद्वय ओली र मोदीले संयुक्त रूपमा जनकपुर–अयोध्या (भारत) बस सेवा शुभारम्भ गर्नेछन्। लगत्तै मन्दिर परिसरमै पत्रकार सम्मेलन गरी रामायण सर्किटको घोषणा गरी करिब ११ः२५ बजेसम्म बाह्रबिघा मैदानका लागि निस्किनेछन्। त्यहाँ स्थानीय सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत हुनेछ । त्यसपछि जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मोदीलाई नागरिक अभिनन्दन गर्नेछन्। मोदीले प्रमुख वक्ताको रूपमा आफ्नो सम्बोधन सकेपछि मुख्यमन्त्री राउतले धन्यवाद ज्ञापन गर्दै समारोह समापन भएको घोषणा गर्ने र मोदी पुनःजनकपुर विमानस्थल पुगेर काठमाडौंका लागि उड्ने कार्यक्रम रहेको प्रधानले बताए।

प्रकाशित: २८ वैशाख २०७५ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App