२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले: सबै जिल्ला अधिवेशन सम्पन्न, पालिका तहमा ९८ प्रतिशत प्रगति

तस्बिर: सरोज रेग्मी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रदेश र सबै जिल्ला तहका अधिवेशन सम्पन्न गरेको छ।

साथै, स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीका अधिवेशन सकिएको पार्टीले जनाएको छ।

पार्टीका महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन आयोगको रिपोर्टिङका आधारमा उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत निर्धारित समयमा अधिवेशनहरू सम्पन्न गराएकोमा पार्टी निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेका छन्।

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार, अब पालिकातर्फ करिब १० वटा कमिटीको मात्र अधिवेशन हुन बाँकी छ। विभिन्न कारणले रोकिएका ती अधिवेशनहरू पार्टीको आन्तरिक व्यवस्थापन मिलाएर तत्काल सम्पन्न गरिने उनले बताए।

यस्तै, हालसम्म करिब ६ हजार वडाका अधिवेशन सकिएका छन् र बाँकी रहेका वडा अधिवेशनहरू विधान महाधिवेशनभन्दा अघि नै सक्ने गरी काम अघि बढाइएको छ।

पार्टीका २३ वटा जनसंगठनहरूमध्ये १६ वटाको महाधिवेशन पनि सम्पन्न भइसकेको महासचिव पोखरेलले जानकारी दिए।

प्रकाशित: २१ असार २०८२ २१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App