राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनबाटै वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने उद्घोष गरेका छन्।
विराटनगरमा शनिबार आयोजित पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले चुनावबाट नभई सडक संघर्षबाटै व्यवस्था बदल्ने बताएका हुन्।
गणतन्त्र चुनावबाट नआएकाले राजसंस्थाको पुनर्स्थापना पनि चुनावबाट सम्भव नहुने उनको तर्क थियो। उनले भने, ‘यो व्यवस्था आन्दोलनबाटै आएको हो, यसलाई बदल्न पनि आन्दोलन नै चाहिन्छ।’
अध्यक्ष लिङ्देनले देशलाई कांग्रेस, एमाले र माओवादीजस्ता तीन ठूला दल र तिनका शीर्ष नेताहरूले बन्धक बनाएको आरोप लगाए। उनले देशमा बिचौलिया, नेता, कर्मचारी र न्याय क्षेत्रको ‘अघोषित गठबन्धन’ बनेको र त्यसले देशलाई बर्बादीतर्फ धकेलिरहेको दाबी गरे।
‘बिचौलिया व्यापारीले योजना ल्याउँछन्, नेताले कर्मचारीलाई कार्यान्वयन गर्न दिन्छन्, कर्मचारीले व्यवस्था मिलाउँछन् र त्यसलाई न्यायालयले सदर गर्छ,’ लिङ्देनले भने, ‘यही चक्र तोड्न राप्रपाले आन्दोलनको बाटो रोजेको हो।’
अध्यक्ष लिङ्देनले व्यवस्था परिवर्तनका लागि निर्णायक आन्दोलन आवश्यक रहेको र त्यसका लागि संगठन विस्तारमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले गाउँ-गाउँमा संगठनलाई मजबुत बनाउन आग्रह गरे।
प्रकाशित: २१ असार २०८२ १६:२५ शनिबार