४ श्रावण २०८२ आइतबार
image/svg+xml
राजनीति

बाबा पाख्रिनलाई पार्टीमा भित्र्याउँदै दाहालले भने- ‘लोकतन्त्रको नयाँ फूल’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कलाकार बाबा पाख्रिनको पार्टी प्रवेशलाई ‘लोकतन्त्रको नयाँ फूल’ आफ्नो पार्टीमा आएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

कार्यक्रममा कलाकार बाबा पाख्रिनसहित विभिन्न दल परित्याग गरेका सयौँ नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

विगतमा आफूले स्थानीय तहको निर्वाचनपछि राजनीतिमा आएका स्वतन्त्र उम्मेदवार र कलाकारहरूलाई ‘लोकतन्त्रको फूलबारीका नयाँ फूल’ भनेर टिप्पणी गरेको स्मरण गर्दै दाहालले भने, ‘आज त्यो एउटा नयाँ फूल बाबा पाख्रिनको रूपमा हाम्रो पार्टीमै प्रवेश गरेको हुनाले उहाँलाई म विशेष बधाई भन्न चाहन्छु।’

पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उनले पर्साको ठोरीबाट ठूलो संख्यामा युवाहरू पार्टीमा आउनुले पर्सामा माओवादीको विजय यात्रा आजैबाट सुरु भएको घोषणा गरे। उनले भने, ‘मलाई लाग्छ, अब पर्सामा हाम्रो विजय यात्रा आजैबाट सुरु भएको मैले ठानेको छु।’

जनयुद्धकालमा भाषण र सिद्धान्तले भन्दा गीत-संगीतले जनतालाई उत्साहित गर्न ठूलो भूमिका खेलेको बताउँदै दाहालले आगामी निर्वाचनको लडाइँमा पनि कलाकारहरूको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे।

‘आउने लडाइँ निर्वाचनको लडाइँ हामी लड्दैछौँ। त्यो निर्वाचन क्षेत्रबाट बाबा पाख्रिनजस्ता कमरेडहरूको भूमिका निर्णायक भएर आउनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु,’ उनले भने।

दाहालले कलाकार पाख्रिनलाई अब पर्सामा मात्र नभई देशका महत्वपूर्ण सभाहरूमा पार्टीले उपयोग गर्ने र उनको कलामार्फत युवाहरूमा नयाँ उत्साह र उमङ्ग भर्ने योजना रहेको सुनाए।

प्रकाशित: २१ असार २०८२ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App