सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पेनको सेभियामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागिता र त्यस क्रममा भएका उच्चस्तरीय भेटघाटले स्पेनसहितका राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको स्पष्ट परेको छ।
प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको यही असार १६ देखि १९ गतेसम्म भ्रमणबाट नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए।
उनले भने, 'सम्मेलनका क्रममा प्रधानमन्त्रीबाट भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगको छ, साथै नेपाल र संयक्त राष्ट्रसङ्घसँगको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको छ।'
परराष्ट्रसचिव राईले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता एवं सक्रियाताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको जनाउँदै अतिकम विकसित मुलुकको समूहका अध्यक्षका रूपमा धारणा प्रस्तुत गर्नुका साथै नेपालको दिगो विकास तथा स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको जानकारी दिए।
उनले भने, 'स्पेनको व्यावसायिक समुदाय र तथा प्रवासी नेपालीसँग गर्नुभएको अन्तरक्रियाबाट नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।' त्यसैगरी उनका अनुसार प्रधानमन्त्रीले इजिप्टका प्रधानमन्त्रीसँगको भेटमा हमासले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर रिहाइको पहलका लागि अनुरोध गरेका थिए।
प्रधानमन्त्री ओलीले नेपाली राजदूतावास म्याड्रिडद्वारा आयोजित स्पेनका व्यावसायिक समुदायसँको अन्तरक्रियामा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न आह्वान गरेका थिए।
प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकहरूसम्बन्धी उच्चस्तरीय कार्यक्रममा गरिबी, भोकमरी, कुपोषण, व्यापार घाटाजस्ता समस्या भोग्नुपरेको तथा ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम छुट्याउन परेकाले जनताका शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न कठिन भएको बताएका थिए।
त्यस अवसरमा विकासका लागि वित्त सम्मेलनमा व्यक्ति भएका प्रतिबद्धता कार्यान्वयन गर्न ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न पनि प्रधानमन्त्रीले आह्वान गरे।
एक प्रश्नको जवाफमा परराष्ट्रसचिव राईले भने, 'नेपालप्रति अन्तर्राष्ट्रिय जगतको धेरै ठूलो सद्भाव छ, स्वाभाविक रूपमा युरोपेली मुलुकले गहिरो र ठूलो सद्भाव राख्छन्, त्यो सद्भावलाई नेपालका प्रतिष्ठा अभिवृद्धि गर्ने र आर्थिक समृद्धिमा प्रयोग गर्ने सवालमा यस्ता भ्रमणलाई अन्तर्राष्ट्रिय मञ्चलाई प्रयोग गर्ने गरेका छौँ।'
अन्तर्राष्ट्रिय मञ्चमा नेपाल त्यसै पनि ४६ वटा अतिकम विकसित मुलुकको अध्यक्षको नाताले ठूलो भूमिकामा रहेको जनाउँदै उनले दश वर्षको अवधिमा हुने यो सम्मेलनले दिगो विकास लक्ष्य पूरा गर्न कसरी आर्थिक सहयोग उपलब्ध गराउने केन्द्रित रहेकाले पनि त्यो आवाजलाई मुखरित गर्न नेपाल सफल भएको प्रतिक्रिया दिए। रासस
प्रकाशित: २० असार २०८२ २०:१२ शुक्रबार





