नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई ‘फोहोर’ को संज्ञा दिएका छन्।
जारी केन्द्रीय समिति बैठकमा थापाले बस्नेतको अभिव्यक्तिलाई ‘गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित’ भन्दै त्यसमाथि टिप्पणी गरेर आफू फोहोरी बन्न नचाहेको बताए।
टेरामाक्स प्रकरणमा धरौटीमा रिहा भएका केन्द्रीय सदस्य बस्नेतले बैठकमा थापालाई लक्षित गरी आरोप लगाएपछि महामन्त्री थापाले त्यसको जवाफ दिएका हुन्।
‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु, फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।’, थापाले बैठकमा भने।
उनले आफ्नो अनुपस्थितिमा बैठकभित्रै धम्कीपूर्ण र अभद्र व्यवहार देखाइएको भन्दै त्यस प्रवृत्तिको आलोचना गरे। थापाले भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’
सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै थापाले यस्ता गतिविधिले राजनीतिको तह र सभ्यताको सीमा नाघेको भन्दै पार्टीभित्रको संस्कारमाथि गम्भीर प्रश्न उठाए।
प्रकाशित: १८ असार २०८२ २०:४९ बुधबार





