जेठको रापमा राजावादीहरूको आन्दोलन चर्कियो, अनि असारको वर्षासँगै सामसुम पनि भयो । तर लामो समयदेखि ‘राजावादी’ भनेर चिनिँदै आएका लक्ष्मणसिंह खड्कालाई भने यो आन्दोलनको हावाले पटक्कै छोएन । ‘म त राजावादी पो, खड्काले भने, ‘ज्ञानेन्द्रवादी हैन ।’ पृथ्वीनारायण शाह महेन्द्र र वीरेन्द्रलाई राजा मान्ने उनी ज्ञानेन्द्रलाई राजा मान्न तयार छैनन् ।
‘आफूले पाएको जिम्मेवारी सम्हाल्न नसकेर भाग्ने पनि के राजा,’ नेपालको खलासी बताउने खड्काले भने, ‘नेपाल हाँक्ने गतिलो चालक चाहिएको छ ।’

बिस २००६ सालमा काठमाडौँमा जन्मिएका खड्का ३० को दशकबाट राजनीतिमा आकर्षित भएको बताउँछन् । २०३३ सालको चुनावमा प्रधानपञ्चको उम्मेदवार बनेर ५ भोट ल्याएका खड्काले त्यसपछि पनि थुप्रै चुनाव लडे । तर कुनै पनि सफलता प्राप्त गर्न सकेनन् । नेपालको खलासी भनेर आफूलाई चिनाउने उनी आफ्नो पिता चालक रहेको बताउँछन् । ‘मेरो बुबाले चालकको पेसा सम्हालेर हामीलाई लालनपालन गर्नु भयो ,’ उनले भने, ‘देशलाई पनि असल चालक चाहिएको छ, जसले नेपाललाई लालन पालन गरोस्।’
पछिल्लो चरणमा २०७३ सालदेखि नेपाल आमा जिन्दाबाद भन्दै नारा लगाउँदै हिँड्ने उनी सबै जनताले नेपाल आमालाई माया गर्नु पर्ने बताउँछ । नेपालका नेताहरू आफ्नो भन्दा पनि विदेशीको भरमा हिँड्ने गरेको उनको आरोप छ । छिमेकीको भरमा हिँडेका कारण मुलुकमा स्थिरता नरहेको उनी सुनाउँछन् । उनी नेपाललाई माया गर्ने देशको पनि अभाव रहेको बताउँछन् । ‘इजरायललाई अमेरिकाले माया गरेजस्तो नेपाललाई पनि माया र भरोसा गर्ने देशको अभाव भएको छ,’ उनले भने, ‘त्यसले गर्दा स्वार्थ पुरा गर्न अरू देशले यहाँको राजनीति बिगारेका छन् ।
.jpeg)
मुलुकमा धेरै सम्भावना भएको तर त्यसो हुन नसकिरहेको उनले बताए । देशको विगतको इतिहास गर्विलो भए पनि वर्तमान निकै कष्टकर भएको सुनाए । ‘विगतमा यहाँ बुद्ध जन्मिएका थिए,’ उनले भने, ‘अहिले अशान्त फैलाउनेले राज गरिरहेका छन् ।’
प्रकाशित: १८ असार २०८२ ०८:१५ बुधबार





