प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मित्र राष्ट्र भारत भ्रमणको मिति अझै तय हुन सकेको छैन। स्पेन भ्रमणबाट फर्केलगत्तै भारत भ्रमण गर्ने गरी कूटनीतिक तहमा छलफल सुरु भए पनि मिति तया हुन नसकेको हो।
असारको अन्तिम साता प्रधानमन्त्रीको भारत भ्रमण हुने कार्यतालिकासहित नेपाली पक्षले तयारी गरेको थियो। यद्यपि त्यो कार्यतालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेपछि नेपाली पक्षले आगामी साउन १२ देखि १६ (जुलाई २८ देखि अगष्ट १) सम्मको कार्यतालिका प्रस्तुत गरेको छ। ‘कूटनीतिक तहमा नेपाली पक्षले पेस गरेको भ्रमण मितिबारे छलफल भैरहेको छ तर अझै तय भएको छैन,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो।
गत वर्ष असारमा ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा चलेको थियो। तर अहिलेसम्म भ्रमणको चर्चा मात्रै चलेको तर तय हुन सकेको छैन। प्रधानमन्त्री ओली यतिबेला असार १५ देखि २० सम्म संयुक्त राष्ट्रसंघले आयोजना भैरहेको विकासका लागि वित्तपोषण (फाइनान्सिङ फर डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन पुगेका छन्।
‘भारत भ्रमणको विषयमा कूटनीतिक तहमा छलफल भइरहेको छ, दुई–तीन वटा समयबारे छलफल भैरहेको छ,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो। सरकार बनेको एक वर्ष पूरा हुन लाग्दा बल्ल कूटनीतिक तहमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको हो।
यसअघि पनि कूटनीतिक तहमा छलफल भएका थिए तर भ्रमण हुन नसकेको विषयमा परराष्ट्र मन्त्रालयले केही बताउन चाहेको छैन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक रूपमा सक्रिय हुने घोषणाले पनि प्रधानमन्त्रीको भारत भ्रमणलाई असर गरेको हो कि भन्ने आंशका पनि गरिएको छ। शनिबार मात्रै भण्डारीले आफू एमाले परिवारको सदस्य भएको घोषणा गरेकी थिइन्। यो विषयलाई भारतीय संस्थापन पक्षले नोटिसमा लिएको जनाएको छ।
‘पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक क्रियाशीलताले प्रधानमन्त्रीको भारत भ्रमणलाई केही समयपछि धकेल्न सक्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।
यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डको बैंकक जानुअघि भारत भ्रमण गर्ने विषयमा चर्चा चलेको थियो। त्यसपछि पनि उनको भारत भ्रमण हुन सकेन। त्यतिबेला ओली र भारतीय प्रधानमन्त्री मोदी बैंककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटवार्तामा क्रममा नेपालद्वारा प्रस्तावित मितिलाई भारतको आन्तरिक पात्रोका आधारमा आपसी सहमतिमै टुंगो लगाउने गरी छलफल भए पनि भ्रमण हुन सकेन।
गत वर्षको असार ३१ मा प्रधानमन्त्री भएयता ओलीले भारत भ्रमणमा जान निरन्तर प्रयास गर्दै आएका थिए। तर भारतीय पक्षले चासो नदेखाउँदा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण हुन सकेको छैन। प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २९ गते उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए। चीनबाट फर्केकै दिन ओलीले भारत भ्रमण तय गर्ने बताए पनि अहिलेसम्म हुन सकेको छैन।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच थाइल्यान्डको बैंककमा चैत २२ गते एक्लाएक्लै भेट भएको थियो, जहाँ मोदीले ओलीलाई भारत भ्रमणमा आउन भनेको दाबी गरिएको थियो। स्वदेश फर्केलगत्तै प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा जाने बताएका थिए। तर ओली स्वदेश फर्केपछि भारत भ्रमणको चर्चा नै हराएको थियो।
पछिल्लो पटक भने भारतीय पक्षबाटै भ्रमणका लागि छलफल सुरु गरेपछि यस पटक नेपाली पक्षले पनि तयारी गरिरहेको छ।
प्रकाशित: १६ असार २०८२ १२:५४ सोमबार





