३१ असार २०८२ मंगलबार
image/svg+xml
राजनीति

विचित्रका चित्रबहादुर : ‘आइफोन’ पनि चिनेनन् !

तस्बिर : सामाजिक सञ्जाल

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अन्य नेताभन्दा फरक देखिन्छन्।

सांसद बनेर सम्पन्न बन्ने नेपाली समाजमा उनको सादगी जीवन देखेर धेरैले उनलाई सम्मान पनि गर्छन्। कहिले ट्याम्पो चढेर संसद् भवन जाँदै त कहिले बस चढेर घर जाँदै गरेको दृश्य सामान्य देखिन्छ।

मुलुकमा सधैँजस्तो स्थायी प्रतिपक्ष जस्तो देखिने केसीले बोलेका हरेक कुरा समाचार बन्दै आएको छ। घुमाउरो तरिकाबाट सटिक व्यंग्य हान्न खप्पिस केसी हालै एक रमाइली भिडियो सार्वजनिक भएको छ। तर यो कुनै खुराक नभएर उनले भर्खरै बोक्न थालेको ‘स्मार्टफोन’ मा केन्द्रित छ।

टुकटुके मोबाइल बोक्दै गरेको उनको हातमा स्मार्ट फोन देखेपछि सञ्चारकर्मीले जिस्काउन बाँकी राखेनन्। हँसमुख स्वभावका केसीले पनि कान्छा छोराले ल्याइदिएको आइफोन भनेर अर्को मोडलको फोन देखाइदिए। ‘टुकटुके चलाउँथेँ, कान्छा छोराले किनिदियो,’ उनले हाँस्दै भने, ‘यही हो मेरो आइफोन।’

तर सञ्चारकर्मीले मोबाइल हेरिहाले। आइफोन हैन रहेछ। अर्को मोडलको फोन रहेछ। अनि रमाइली पाराले जिस्काउन थाले। ‘यो त अर्को मोडलको फोन हो त,’ एकले जिस्कँदै भनी हाले, ‘हजुरलाई छोराले झुक्काएछ।’ अनि अर्काले भने, ‘सम्भवतः उनलाई टच फोन भनेको आइफोन भन्ने लागेको होला।’ केसीले पनि मुस्कुराँउदै भने, ‘मलाई त कुन फोन भन्ने पनि थाहा छैन, कान्छो छोराले किनिदिएको हो।’

फोनमा केन्द्रित कुरा एकै छिनमा मुलुकको राजनीतितर्फ पनि मोडियो। उनले आफू सादगी नभएर पार्टीले आफूलाई सादगी बनाएको सुनाए। आफूले कसैको झोला नबोकेको सुनाउँदै मुलुक बनाउन हिँडेको सुनाए। टुकटुके मोबाइलबाट स्मार्ट फोन बोक्न थालेका केसीका उत्तर पनि कम्ता स्मार्ट थिएनन्। ‘मलाई अहिले ८४ को चिन्ता छैन, अहिले नै केही गर्न सकिन्छ भनेर लागेको छु,’ ८५ वर्षीय केसीले स्मार्टफोनलाई मुठ्ठीमा कस्दै भने, ‘७९ को बाचा पूरा गर्न नसकेकाहरू ८४ को गफ हान्न थालेका छन्।’

प्रकाशित: ११ असार २०८२ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App