२५ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

बालेन-सुनिता शीतयुद्धको कोपभाजनमा महानगर बजेट

बालेनले उपमेयर र वडाध्यक्षलाई दिएका थिए बजेट तयारीको जिम्मा

काठमाडौं टावरको नक्सा पासले सिर्जना गरेको काठमाडौं महानगरपालिकाका पदाधिकारीबिचको विवादको असर बजेटसम्म नै परेको छ। संवैधानिक अभ्यासअनुसार असार १० अर्थात् आजसम्म आउनुपर्ने आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट आउन सकेन।

जसको मुख्य कारण नै टावरको नक्सा पास विवादबाट सिर्जना भएको मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसहितका पदाधिकारीको विवाद नै देखिएको छ। यसअघिका आर्थिक वर्षहरूमा महानगरको बजेट १० असारभित्रै ल्याउने गरेको थियो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले मङ्गलबार (आज) बजेट आउन नसकेको बताए। ‘आज नियमअनुसार बजेट आउनुपर्ने त हो तर, आज नआउने निश्चित भएको छ,’ उनले भने, ‘आन्तरिक तयारी नपुग्दा बजेट ल्याउने अवस्था रहेन।’

नगरसभा सञ्चालन गर्ने निर्णय कार्यपालिकाको बैठकबाट हुने गर्दछ। तर, महानगरपालिकाको कार्यपालिका बैठक गत पुसदेखि नै बस्न सकेको छैन। काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको आरोप लगाउँदै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेका थिए। तर, सङ्घीय सरकारले उनको ठाउँमा अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएर उनैलाई जिम्मेवारी दिएर पठाएपछि यो विवाद चुलिएको हो।

मेयर-उपमेयर आ-आफ्नै अडानमा

महानगरका मेयर बालेनले काठमाडौं टावरको नक्सा पास नियमविपरीत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई निलम्बित गरेका थिए। बालेनले सङ्घीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गरेका थिए। तर, सङ्घीय सरकारले गुरागाईंलाई नै पुन: प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई पठाएपछि बालेन असन्तुष्ट छन्।

बालेनले गुरागाईंसँग बैठक बस्न नचाहेकै कारण अहिलेसम्म कार्यपालिकाको बैठक बस्न नसकेको महानगर स्रोत बताउँछ। तर, उपमेयर डङ्गोल भने गुरागाईंलाई नराखी बैठक नबस्ने अडानमा छिन्। मेयर बालेन र उपमेयर डङ्गोल आ-आफ्नै अडानमा हुँदा कार्यपालिका बैठक अन्योलमा परेको र महानगरको बजेट पनि समयमा नआएको स्रोत बताउँछ।

विवादकै बिच मेयर बालेनले असार ४ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका थिए। उक्त बैठकमा उनले समितिका सदस्य सचिव रहने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भने बाइपास गरेका थिए। तर, गुरागाईं बिना बैठक राख्न खोज्दा उपप्रमुख डङ्गोलसहितको टोलीले बैठक अस्वीकार गरेका थिए।

मेयर-उपमेयरबिच कुरा नमिल्दा उक्त दिन बैठक बस्न सकेको थिएन। उक्त समितिको सदस्यमा उपप्रमुख डङ्गोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयाँलक्ष्मी  महर्जन, अनिता कार्की डोली पनि छन्।  

अब महानगरको बजेट कहिले ?

महानगरका प्रवक्ता मानन्धर बजेटको बारेमा निरन्तर छलफल भइरहेको बताउँछन्। बजेट ल्याउने प्रक्रिया नपुगेको कारण समयमा बजेट नखाएको उनको दाबी छ। ‘प्रक्रिया नपुगेको कारण समयमा बजेट नआएको हो। प्रक्रियाको बारेमा छलफलमा गरिरहेका छौँ,’ उनले भने, ‘हामी प्रक्रिया पुर्‍याएर अन्तिम टुङ्गो दिएर जनतामाझ बजेट दिनेछौँ।’

उनले महानगरको बजेट छिट्टै नै ल्याउने दाबीसमेत गरे। ‘कार्यपालिकाको बैठक बसेर बजेट ल्याउनु कुनै ठूलो कुरै भएन। बजेट निर्माण भइसकेको हो। प्रक्रियागत कुरामा अड्केको हो। कार्यपालिकाको बैठक बस्यो भने त आइहाल्छ नि,’ उनले भने।  

छलफलमा कसका कारणले समय कम भयो ? भन्ने प्रश्नमा उनले सबैका कारण भन्दै पन्छिए। ‘अब हामी सबैले आफ्नै कारणले ढिलो भन्नुपर्‍यो नि। अरूलाई के दोष दिनु। आफैँलाई दोष दिनुपर्‍यो,’ मानन्धरले भने।

बालेनले उपमेयर र वडाध्यक्षलाई दिएका थिए बजेट तयारीको जिम्मा

मेयर बालेनले उपमेयरलगायत वडाध्यक्षलाई बजेटको तयारी गर्न भनेको महानगर श्रोत बताउँछ। ‘मेयरसाबले उपमेयरलगायत सबै वडाध्यक्षलाई बजेटको तयारी गर्नुस्। मैले के सहयोग गर्नुपर्छ, गर्छु भन्नुभएको थियो,’ श्रोतले भन्यो, ‘तर, उहाँहरूबिच नै खै के मिलेन।’

उपमेयर डङ्गोल, प्रवक्ता मानन्धर, वडा नं. १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीलाई सबै पार्टीसँग समन्वयको जिम्मा दिएको श्रोतले भनेको छ। 

तीन जनाले सबै दलका प्रतिनिधिहरूसँग सहमति गरी कार्यपालिका बैठक राख्ने मिति तय गर्ने भनिए पनि उनीहरू  बिचमा नै सहमति नभएकाले कार्यपालिका बैठक समेत बस्न नसकेको उनको भनाइ छ। 

प्रकाशित: १० असार २०८२ २०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App