१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन्।

ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष दाहाल संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारे।

दाहालले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गरे।

'घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,' उनले स्पष्ट पारे।

अध्यक्ष दाहालले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भने, 'हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।'

जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष दाहालले दृढतापूर्वक भने, 'जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुने छैन।'

कार्यक्रममा उनले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेसागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित: १० असार २०८२ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App