२५ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्री निर्देशन: गलत तरिकाले मान्छे पठाउने जोसुकैलाई कारबाही गर्नु

गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने अवाञ्छनीय गतिविधिमा शून्य सहनशीलता अपनाउन निर्देशन दिँदै त्यस्ता कार्यमा संलग्न कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

उनले अध्यागमन सुधारका लागि तत्काल ठोस कार्ययोजना अघि बढाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका हुन्।

सोमबार गृह मन्त्रालयमा आयोजित आन्तरिक बैठकमा मन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड बनाउन र गलत तरिकाले मानिसहरूलाई पठाउने कार्यमा संलग्न पाइए जोसुकैलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारे।

‘गलत तरिकाबाट मान्छे गएको थाहा पाए त्यो बेला कार्यरत कर्मचारी कारबाहीको भागेदार हुनेछ,’ मन्त्री लेखकको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने, ‘उहाँले अध्यागमनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गर्नुभएको छ।”

बैठकमा मन्त्री लेखकले विगतका प्रतिवेदनहरूले दिएका सुझाव कार्यान्वयन गर्न, कर्मचारीको आचरण सुधार्न र अध्यागमनको सम्पूर्ण तथ्याङ्कलाई सुरक्षित राख्न डिजिटल प्रणालीको स्तरोन्नति गर्न पनि निर्देशन दिए।

एक महिनायता अध्यागमन सुधारका लागि भएका प्रयासबारे जानकारी लिँदै उनले अध्यागमनको छवि र संरचनागत सुधारमा जोड दिएका थिए।

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। पछिल्लो समय अध्यागमन कार्यालयको ‘भिजिट भिसा’ दुरुपयोगको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ९ असार २०८२ १९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App