प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना युवा कार्यकर्तालाई गुण्डागर्दीमा नलाग्न तर कसैले आक्रमण गरे ‘ओम शान्ति’ भनेर चुप नबस्न निर्देशन दिएका छन्।
उनले युवाहरू दम्भी र घमण्डी नभई बलवान, शालीन र क्षमतावान हुनुपर्नेमा जोड दिए।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा सङ्घ अन्याय सहने र गर्ने दुवै पक्षमा हुन नहुने बताए।
‘हाम्रा युवाहरु गुण्डा हुने छैनन्, बलवान हुनेछन्,’ उनले भने, ‘तर कसैले गालामा पिट्न आएमा ओम शान्ति... भनेर चाँही बस्दैनन्। त्यसकारण युवा सङ्घले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ।’
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले फैलाएका भ्रमको खण्डन गर्न र देश तथा पार्टीको पक्षमा जुझारु रूपमा प्रस्तुत हुन युवाहरूलाई आह्वान गरे।
उनले युवाहरूलाई व्यक्तिको पछि नभई सही विचार र नेतृत्वको पक्षमा उभिन आग्रह गर्दै युवा भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताए।
पार्टी एकीकरणपछि विभाजन गराइए पनि एमालेले फेरि आफूलाई जस्ताको तस्तै अवस्थामा फर्काएको भन्दै उनले त्यो सामर्थ्य सही विचार र नेतृत्वका कारण सम्भव भएको दाबी गरे।
प्रकाशित: ९ असार २०८२ १७:१८ सोमबार