१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

सांसद शेर्पाले संसद्‌मै गीत गाएर गरे मुख्यमन्त्रीको आलोचना: गौरादहको बजारैमा माया हाम्रो बस्यो...

कोशी प्रदेश सभाका सांसद गोम्बु शेर्पाले गीत गाएरै मुख्यमन्त्री हिक्मत कार्कीको आलोचना गरेका छन्। सोमबार (आज) प्रदेश सभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शेर्पाले गीत गाएरै मुख्यमन्त्री कार्कीको आलोना गरेका हुन्।

उनले मुख्यमन्त्री कार्कीले बजेट विनियोजनमा आफूखुसी गरेको भन्दै 'गौरादह बजारैमा माया हाम्रो बस्यो' भन्ने गीत गाएका हुन्। मुख्यमन्त्री कार्कीले गौरा दहमा मात्रै ४ करोड ५ लाख बजेट विनियोजन गरेको भन्दै उनले आलोचना गरे।

'मुख्यमन्त्रीज्यूको क्षेत्र र घर छेउको गौरा दह संरक्षण भनेर चाहिँ ४ करोड ५ लाख दहमा लगाउनुभएको छ। अघिल्लो पटक पनि ४ करोड थियो। यो न्यायपूर्ण हुन्छ ? म सानो हुँदा एउटा गीत व्यापक चर्चामा थियो। गौरा दहको बजारैमा माया हाम्रो बस्यो, कसोगरी भुल्ने होला मन उडी गयो, मन उडी गयो भन्थे। वास्तवमा माया बस्ने भनिएको हिजोको त्यो गौरा दहले गर्दाखेरि मुख्यमन्त्रीज्यू तपाईं र मेरो र तपाईं र प्रदेशबासीको बसिसकेको माया पनि छुट्ने देखियो नि त। यसमा म खेद व्यक्त गर्न चाहन्छु।'

बजेटमा मुख्यमन्त्री तथा मन्त्रीहरूको मात्रै मनपरी भएको आशय सांसद शेर्पाको थियो। यस्तै उनले बजेट सरकारको नभइ जनताको भएको बताए। 'यहाँ गलत भाष्य छ, सरकारको बजेट होइन, जनताको बजेट हो। सांसदको योजना होइन, जनताको योजना हो,' उनले भने।

सांसद शेर्पाले यसअघि पनि संसद्‌मै गीत गाएका थिए। सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा दोषी रहेको भन्दै उनले 'भिजिट भिसामा हजुर भिजिट भिसामा...' भन्ने गीत संसद्‌मै गुन्गुनाएका थिए।

प्रकाशित: ९ असार २०८२ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App