धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबिचको विवादले उग्र रूप लिइ रहेका बेला आइतबार बसेको कार्यपालिका बैठक १५ मिनेटमै स्थगित भएको छ।
उपमेयर आइन्द्र विक्रम बेघासहित २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यले प्रक्रिया नपुर्याई बैठक आह्वान गरेको जनाउँदै लिखितपत्र मेयर हर्क साम्पाङलाई दिएपछि स्थगित भएको हो।
मेयर साम्पाङ्लाई उपमेयर बेघा नेतृत्वको टोलीले सबै प्रक्रिया पुर्याएर मात्र बैठक आह्वान गर्न लिखितपत्र दिएका हुन्। उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यले बजेटको सिलिङ तोक्नुका साथै बजेट पेस गर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न माग गरेका छन्।
असन्तुष्ट पक्षले पत्र बुझाएलगतै मेयर साम्पाङले लिखित रुपमा पत्र नै दिएपछि अब समस्या समाधानतर्फ आफू अग्रसर हुने बताए।
उपमेयर बेघाले भने आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पेस गर्ने सबै प्रक्रिया पूरा गरेर बैठक बोलाउने मेयरकै भूमिका भएको बताए।
दुई दिनअघि दुवैले पत्रकार सम्मेलन गरेर एक अर्काप्रति आरोप प्रत्यारोप समेत लगाए। सोमबार र मंगलबार भने दुवै पक्षधरको प्रदर्शनले उपमहानगरको कार्यालय क्षेत्र नै तनावग्रस्त बनेको थियो।
पछिल्लो समय धरान वडा नं-१६ मा रहेको बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणमा जाली लगाएको रकम निकासा गर्नु पर्ने पक्षमा मेयर साम्पाङ र रकम निकासा गर्न नसकिने उपमेयर बेघाको अडानपछि विवादले उग्र रूप लिएर वातावरण असहज बनेको थियो।
साम्पाङले विपद् जोखिम नियन्त्रणका लागि प्रयोग गरिएको जालीको पैसा दिन्न भन्न नमिल्ने बताउँदै भुक्तानी दिन तयार बनाइ रहेको अवस्थामा उपमेयरले भाँडभैलो गरेको जिकिर गर्दै आएका छन्।
उपमेयर बेघाले भने श्रमदानका नाममा गैरकानुनीरुपमा उपमहानगरपालिकाको बजेट प्रयोग गर्दै किर्ते फाइल खडा गरेको दाबी गरेका छन्।
बैठक स्थगितले गर्दा असार १० गते बजेट प्रभावित हुने देखिएको छ।
प्रकाशित: ८ असार २०८२ १९:१६ आइतबार





