नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकार सत्ता पक्षमै रहेर पनि ‘रोनाधोना’ गरिरहेको भन्दै बजेट विनियोजनको शैली र नियतमाथि प्रश्न उठाएका छन्।
आइतबार संसद् बैठकमा मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै उनले सरकारलाई नियत सच्याएर परिणाममुखी काम गर्न आग्रह गरेका हुन्।
सत्तारुढ गठबन्धनभित्रैबाट सरकारको कार्यशैलीको आलोचना गर्दै थापाले भने, ‘आज हामी सत्ता पक्षमा छौं, तैपनि रोनाधोना गरिरहेका छौं। विपक्षमा हुने साथीहरूले त्यही गरिरहनुभएको छ। हिजो सत्ता पक्षमा हुँदा सन्तुलित ढंगले विनियोजन गर्नुभएन भनेर हामीले आलोचना गरेकै मन्त्रीजी आज रोस्टममा आएर हामीले जस्तै बोलिरहनुभएको छ।’
उनले यस्तो परम्पराले देशलाई कतै नपुऱ्याउने भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरे। ‘नियतमा समाधान खोजौं, नियत सच्याऔं, बाटो बदलौं,’ उनले भने, ‘विकासको चालु मोडल र स्रोत व्यवस्थापनको आजको तरिका ठीक भएन।’
थापाले बजेट विनियोजनमा चरम अराजकता देखिएको र वित्तीय अनुशासन पूर्ण रूपमा उल्लंघन भएको आरोप लगाए। उनले भने, ‘राष्ट्रिय योजना आयोगले ३ करोडभन्दा कमका योजनाको सिलिङ दिएको थियो, तर शहरी विकास मन्त्रालयमा १ हजार रुपैयाँदेखिका योजना छन्। यो के जग हँसाइ हो ?’
उनले मन्त्रालयहरूले कार्यकर्ता र आसेपासेको सिफारिसका आधारमा टुक्रे योजना बाँडेको भन्दै आपत्ति जनाए। ‘कुन कार्यकर्ताले जय नेपाल भन्यो र टेलिफोन गर्यो, त्यस आधारमा योजना छुट्ट्याउने ? यो तरिका मिलेन,’ थापाले भने।
उनले मन्त्रीहरूलाई लक्षित गर्दै थपे, ‘यो संयुक्त सरकार हो भन्ने अनुभूति गर्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीको पार्टीकाले भनेको मान्नुपर्ने, अरूले नमान्नुपर्ने भन्ने हुन्छ र ? सिलिङ त सबैका लागि हो, देशका लागि हो।’
सांसद थापाले स्वतन्त्र विज्ञहरूबाट बजेटको समीक्षा गराउन सरकारलाई चुनौतीसमेत दिए। ‘स्वतन्त्र एकेडेमिक मान्छेहरूबाट रिभ्यू गराउने हैसियत राख्नुहुन्छ ? म चुनौती दिन चाहन्छु,’ उनले भने।
आफ्नो मन्तव्यको अन्त्यमा उनले गायिका अरुणा लामाको गीत उद्धृत गर्दै भने, ‘पोहर साल खुसी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ। यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ? यो को-को जिम्मेवार हुनुपर्ने हो ?’
प्रकाशित: ८ असार २०८२ १६:१५ आइतबार





