पूर्वमन्त्री गोपाल किराती नेतृत्वको देशभक्त श्रमिक मोर्चाले जारी इजरायल-इरान युद्धमा इरानको समर्थन गरेको छ।बिहीबार (आज) धारणा सार्वजनिक गर्दै अध्यक्ष किरातीले मोर्चा इरानको पक्षमा रहेको स्पष्ट पारेका हुन्।
देशभक्त नेपालीहरूले इरानको समर्थन गर्नुपर्ने भन्दै उनले भनेका छन्, 'इरानको राष्ट्रिय प्रतिरक्षाका खातिर इरानी जनताद्वारा जारी अभूतपूर्व युद्वमोर्चाले अमेरिकी सैनिक प्रभुत्वको एकलध्रुवीय विश्वलाई पराजित गर्दै बहुध्रुवीय नयाँ विश्व-व्यवस्थालाई आधिकारिक मानचित्रमा उतार्ने जमर्को गरिरहेको प्रष्ट छ।'
गत जुन १३ मा इजरायलले २०० भन्दा बढी सैनिक विमानको प्रयोग गरेर इरानी सेना तथा क्रान्तिकारी गार्डका दुई प्रधानसेनापतिसहित नेता अली खोमेनीका राजनीतिक सल्लाहकारको हत्या गरेको थियो। त्यसपछि आएका नयाँ प्रधानसेनापतिको पनि चार दिनपछि इजरायलले नै हत्या गरेको थियो।
त्यसपछि इरानले पनि जपाफी कारबाही गर्यो। इरानको जवाफी कारबाहीलाई मोर्चाले त्यसलाई जायज भनेको छ। 'उपरोक्त बाह्य हस्तक्षेपको प्रतिरोधमा आफ्नो सार्वभौमिकता रक्षार्थ इरानको जवाफी कारबाही सर्वथा जायज र न्यायोचित ठहर्छ र हामीहरू त्यसको समर्थन गर्दछौँ,' अध्यक्ष किरातीद्वारा जारी धारणामा भनिएको छ, 'आफ्नो सार्वभौमिकता रक्षार्थ इरानको राष्ट्रिय प्रतिरोध युद्वमा ऐक्यबद्वता र समर्थन जाहेर गरौँ।'
किरातीले बहुध्रुवीय विश्व-व्यवस्था नै सही भएको पनि बताएका छन्।
प्रकाशित: ५ असार २०८२ २०:३३ बिहीबार