१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्च तानिए

रौतहट नरसंहारका मुख्य आरोपी कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई सर्वोच्च अदालतमा काजमा तानिएको छ।

न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई उनीहरुको विवादास्पद फैसलाबारे छानबिनका लागि प्रधानन्यायाधीशले सर्वोच्चमा काजमा तानेका हुन्।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका रजिस्ट्रार दिपक भण्डारीले उनीहरुलाई न्याय परिषदमा नभई प्रधानन्यायाधीशले सर्वोच्चमा काजमा तानेको पुष्टि गरे।

उनले भने, ‘चिठी चाहिँ आइपुगेको छैन, आउँदैछ। तर उहाँहरुलाई न्याय परिषदमा तानिएको होइन, प्रधानन्यायाधीशज्यूले सर्वोच्चमा काजमा राख्नुभएको हो।’

आलमलाई इँटाभट्टामा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। तर, न्यायाधीश थारु र महर्जनको इजलासले उक्त फैसला उल्टाउँदै आलमलाई सफाइ दिएपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो।

उक्त फैसलापछि न्यायाधीशद्वयविरुद्ध न्याय परिषदमा मृतक पिन्टु र त्रिलोकका बुबाले समेत उजुरी दिएका थिए। यसअघि नै परिषदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर उनीहरुलाई काजमा तान्न प्रस्ताव राखेकी थिइन्।

तर, त्यतिबेला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चौरसियाले उक्त प्रस्ताव अस्वीकार गरेका थिए। यसैबीच, न्यायाधीश थारुमाथि दुर्व्यवहार समेत भएको थियो।

सर्वोच्चमा काजमा तानिएसँगै अब उनीहरुले वीरगञ्ज इजलासको जिम्मेवारीबाट अलग भएका छन् र उनीहरुको फैसलाबारे थप छानबिन हुनेछ।

प्रकाशित: ५ असार २०८२ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App