उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती करिडोरको अनुगमन गरेका छन्।
उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै सो क्षेत्रको निरीक्षण गरेको हो ।
उपप्रधानमन्त्री सिंहले वर्षा लागेसँगै बागमतीमा बाढीको सम्भावित जोखिम बारे स्थलगत निरीक्षण गरेर चासो व्यक्त गरेका छन्। वर्षा लागेसँगै बागमती नदीले पार्न सक्ने असर न्यूनीकरणका लागि आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराएका छन्।
टोलीले सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तर्गत भइरहेका कामहरू, ढल व्यवस्थापन, बागमती सौन्दर्यीकरण लगायतको अवलोकन गरेको छ । सो क्षेत्रमा अवलोकन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमतीलाई स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि तत्काल आवश्यक कार्यअघि बढाउन निर्देशन दिए।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र काठमाडौं ३ का सांसद सन्तोष चालिसे शहरी विकास मन्त्रालयअन्तर्गत धेरै कामअघि बढेको भन्दै आभार व्यक्त गरेका थिए । नगर प्रमुख रिसालले नगरपालिकाले बागमती स्वच्छ बनाउन पालिकाभित्र गरिरहेको कामबारे जानकारी गराए।
काठमाडौं उपत्यकाको नदी र कोरिडोरको विषयलाई शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ ।
उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखिनै काठमाडौं उपत्यकाका नदीनाला सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिँदै आएका छन्। यस वर्षको बजेटमा समेत शहरी विकास मन्त्रालयले उपत्यकाको नदीनाला संरक्षण र कोरिडोर विस्तारमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । सो क्रममा काठमाडौं आयुक्त सुवास बस्नेतले गोकर्ण क्षेत्रको सुन्दरीजल सडकमा परेका घरहरूको क्षतिपूर्तिको विषयमा उपप्रधानमन्त्री सिंहलाई जानकारी गराएका थिए ।
उपप्रधानमन्त्री सिंहसँगै मन्त्रालयका सचिव गोपाल सिग्देलसहितको टोली, काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत , अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सहभागी थिए ।
बुधबार उपप्रधानमन्त्री सिंहले धोबीखोलाको बुढानीलकण्ठ क्षेत्रको निरीक्षण गरेका थिए।
प्रकाशित: ५ असार २०८२ १३:०१ बिहीबार