राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण जघन्य अपराध र मानव बेचबिखन भएको भन्दै यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
मंगलबार संसद् परिसरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने- ‘यो देशमा रोजगारी पनि नदिने, रोजगारी खोज्न जाने मान्छेलाई पनि बेचिदिने ? योभन्दा ठूलो अपराध हुन सक्दैन।’
उनले यो प्रकरण २०६४ सालदेखि चलिरहेको भन्दै तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि रमेश लेखकसम्मका सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग राखे।
राप्रपाले विगतदेखि नै संसद बहिष्कार गर्दै आएको र आज सभामुखले छलफलका लागि बोलाउनु सकारात्मक भए पनि ठोस कारबाहीको प्रक्रिया अघि नबढेसम्म सदन र सडकबाट संघर्ष जारी राख्ने उनले चेतावनी दिए।
उनले भने, ‘यो विषयमा कुनै ‘गिभ एन्ड टेक’ हुँदैन। जोसुकै होस्, भोलि राप्रपाकै नेता जोडिए पनि कारबाही हुनुपर्छ।’
प्रकाशित: ३ असार २०८२ १८:२६ मंगलबार





-600x400.jpg)