३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

ओलीलाई ‘किर्ना’ करार गर्दै वामदेव गौतमले गरेका दुई समीक्षा

दुईपटक नेकपा (एमाले) त्यागेका वामदेव गौतम पुन: एमालेमै समाहित हुन चाहन्छन् तर, अध्यक्ष केपी शर्मा ओलीले उनलाई ‘भाउ’ नै दिएका छैनन्। पछिल्लो पटक पार्टी त्यागेपछि गौतमले पुन: फर्किन चाहेका छन्। यसका लागि उनले ओलीलाई‘पुन: पार्टीमा फर्काउनुस्’ भनेर खुट्टा मात्रै ढोगेका छैनन्, अरु भन्नुपर्ने कुरा केही बाँकी राखेका छैनन्।

तर, ओलीलाई फेरि पार्टी नत्याग्ने ‘ग्यारेन्टी’ चाहिएको छ। गौतमलाई फर्काउनका लागि भनेर ओलीले २०८१ माघ ८ गते पार्टीको सचिवालय बैठक आह्वान गरे। बैठक बस्यो तर, गौतमलाई के भूमिकामा फर्काउने भन्नेबारे बैठकले केही निर्णय गरेन। यसपछि पुन: एमालेमा फर्किन खुट्टा उचालेका गौतम थकथक मात्रै भएनन्, पछुताए पनि।

त्यसअघि मात्रै एमाले नै विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले गौतमलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने निर्णय नै गरिसकेको थियो। एकता प्रक्रिया पनि चलिसकेको थियो तर, ओलीले ‘एमालेमै फर्किनुस्’ भनेपछि उनी एमालेतिरै लम्किए। तर, पछि ओलीले ‘घर न घाट’को बनाए। गौतमलाई पछि मात्रै थाहा भयो कि ओलीले एकीकृत समाजवादीसँगको एकता भाँड्न मात्रै एमालेको आस देखाएका रहेछन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि एमालेबाट बाहिरिएका गौतम अहिले नेकपा एकता अभियानका संयोजक हुन्। तत्कालीन नेकपा फुटेपछि एमाले र माओवादीका रूपमा पूर्ववत् अवस्थातिरै फर्किएका दुई पार्टी एमाले-माओवादीलाई पुन: एकता गर्ने उद्देश्यसहित गठन गरेको अभियान अहिले पार्टीकै रूपमा छ तर, निष्क्रिय छ। पार्टीले न राजनीतिक गतिविधि गर्छ, न सङ्गठन विस्तार नै।

पछिल्लो समय गौतमसहित अरु नेताहरू पनि सङ्गठन विस्तारमा भन्दा विचार मिल्ने अन्य दलहरूसँगकै एकतामा केन्द्रित हुनुपर्ने पक्षमा छन्। त्यसैले पनि अहिले पार्टीभित्र राजनीतिक गतिविधि ठप्प छ। राष्ट्रियसभा बैठकमा आउने, सम्बन्धित विषयवस्तुमा आफ्नो विचार व्यक्त गर्ने र फर्किने बाहेक गौतमको सहभागिता अरु मञ्चहरूमा कमै देखिन्छ।

वामदेव गौतम र माधव नेपाल।

पछिल्लो समय किताब पढ्दै, लेख्दै प्राय: घरमै बसिरहने गौतमले समीक्षा गर्ने गरेका छन्। एमालेको सङ्गठन निर्माणमा प्रमुख भूमिका निभाएका मध्येका एक गौतम मुख्यत: नेकपा फुटेकामा पश्चात्ताप मान्छन्। त्यसमा उनले मुख्यत: दुई बुँदामा समीक्षा गरेका छन्।

पहिलो, नेकपा निर्माणमा मुख्य भूमिका निभाउनू। गौतम स्वीकार्छन् कि ओलीसहितका नेताहरूको विचारको विपक्षमा गएर उनले नेकपा निर्माणमा प्रमुख भूमिका निभए। उनका अनुसार ओली र उनका निकटस्थ नेताहरूले नेकपा चाहेकै थिएनन्। ‘केपीलगायत केपीको पक्षमा रहेका साथीहरूको विचारको विपक्षमा गएर सफलतापूर्वक पार्टी एकता गर्ने कामको भूमिका मैले निर्वाह गरेँ नेकपा बनाउँदाखेरि,’ उनले भनेका छन्।

दोस्रो, बनिसकेको नेकपा विभाजनबाट जोगाउन नसक्नू। उनले नेकपा फुट्न पनि सक्छ भनेर कहिल्यै सोच्न नसकेको बताउँछन्। ‘नेकपा विभाजन पनि हुनसक्छ भनेर भन्ने किसिमले सोच्नै सकिनँ,’ उनले भने।

उनी थप स्पष्टीकरण गर्छन्, ‘भर्खरै बनेको पार्टी हो, भर्खरै हामीले घोषणा गरेका छौँ, दुईवटा पार्टी एक ठाउँ ल्याउनु छ, राम्रोसँग घुलमिल हुने अवस्था सृजनासम्म गर्न सकिएको छैन, भन्दाखेरि नेकपा भन्ने हो तर, भित्र एकतिर एमाले र अर्कोतिर माओवादी भएर बसिरहेको अवस्थामा मैले त्यसबेला जे गर्नुपर्थ्यो, त्यो मैले गर्न सकिनँ। त्यसबेला मैले गरेको भए जोगिन्थ्यो नेकपा।’

तर, पार्टी विभाजन गर्ने आफू नरहेको भनाइ गौतमको छ।उनले राजेन्द्र बानियाँसँगको अन्तर्वार्ताका क्रममा जिकिर गरेका छन्, ‘ यद्यपि, पार्टी विभाजन गर्ने पात्र म होइन। जिन्दगीमा कहिल्यै त्यस्तो गरिनँ, गर्दिनँ र भविष्यमा पनि गर्दिनँ।’

ओलीलाई ‘किर्ना’को संज्ञा

गौतमले ओलीलाई किर्ना करार गर्छन्। एमालेको सङ्गठन निर्माणमा उनको मुख्य योगदान नरहेको भनाइ छ उनको। ‘उहाँ (केपी शर्मा ओली) किर्ना हो, उहाँले अझै पनि खाइरहनुभएको छ। जुन घर, जुन संरचना हामीले बनायौँ। हामी नभएको भए एमाले बन्ने थिएन, एमाले बन्ने थिएन। मदन भण्डारी, वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायतका यी व्यक्तिहरू नभएको भए एमाले बन्ने थिएन। सङ्गठनात्मक क्षेत्रमा केपी ओलीको योगदान हिजो पनि थिएन र आज पनि छैन,’ उनले भने।

वामदेव गौतम र केपी शर्मा ओली।

यो कुरा ओली आफैँले आफूलाई बताएको गौतमको जिकिर छ। सङ्गठन नबनाए पनि त्यहीँ रहेर ओलीले किर्नाजस्तो खाइरहेको उनको टिप्पणी छ। ‘ ओली १२ वर्ष जेलमा बस्नुभयो, पछि आउनुभयो। पार्टी तपाईंले निर्माण गर्नुभएको हो। हामीले जेलमा बसेर अडान लियौँ, जसले तपाईंहरूलाई प्रेरणा प्राप्त भयो र तपाईं र तपाईं जस्तै साथीहरूले गर्नुभएको हो भनेर भन्नुभएको छ। मुख्य योगदानचाहिँ उहाँको छैन,’ उनले भने।

यो पनि पढ्नुहोस्

वामदेव फेरि ‘पेन्डुलम’ !

 

प्रकाशित: २ असार २०८२ २१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App