नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीमा जनार्दन समूहलाई पराजित गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष प्यानल नै बिजयी भएको छ। नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो अधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै बिजयी भएको हो।
केन्द्रमा संस्थापन पक्ष र जनार्दन पक्ष भए पनि कास्कीमा भने संस्थापन पक्षका राजकाजी गुरुङ र रामजीप्रसाद बरालको संयुक्त समूह र जनार्दन पक्षका दीपक कोइराला समूहबीच जुझारु लडाइँको रूपमा रहेको थियो। जसमा गुरुङ र बरालको संयुक्त समूहले बाजी मार्दै कोइराला पक्षलाई क्लिन स्वीप गरेको छ।
प्रतिष्ठाको लडाइँ बनाइएको निर्वाचनमा अध्यक्षमा सो समूहका हरिप्रसाद भण्डारी निर्वाचित भएका छन्। जनार्दन पक्षका जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन्। महानगर कमिटीका ८६ सदस्य नै मतदाता रहेको चुनावमा भण्डारीले ५१ मत प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिस्पर्धी जनकराज पराजुलीले ३५ मत प्राप्त गरे। पराजित पराजुली निवर्तमान सचिव हुन्।
तीन उपाध्यक्षमा अर्जुन मल्ल, पेनीमाया अधिकारी र पुष्पकमल ढुङ्गाना बिजयी भए। उपाध्यक्षमा बिजयी मल्लले ५४, अधिकारीले ५३ र ढुङ्गानाले ४९ मत प्राप्त गरे। पराजित गीता खनालले ३२ मत र दयाराम तिवारीले १० मत मात्रै प्राप्त गरेका थिए।
कमिटीको सचिवमा यसअघि नै सूर्यप्रकाश तिवारी सर्वसम्मत निर्वाचित भइसकेका छन्। कोषाध्यक्षमा भएको निर्वाचनमा रामप्रसाद पाण्डेलाई १४ मतान्तरले पराजित गर्दै अनिल परियार निर्वाचित भए। बिजयी परियारले ४९ मत प्राप्त गर्दा पराजित पाण्डेले ३५ मत प्राप्त गरे।
त्यस्तै, सहसचिवमा भीम नेपालीलाई १९ मतान्तरले पराजित गर्दै चन्द्रबहादुर गुरुङ बिजयी भए। बिजयी गुरुङले ५२ मत प्राप्त गर्दा पराजित नेपालीले ३३ मत प्राप्त गरेका थिए।
प्रकाशित: १ असार २०८२ १७:२२ आइतबार