संघीय संसद सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ।
सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो।
सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो।
कैलालीको धनगढी उपमहानगरपालिका-१ शान्तिनगरमा २०२७ साल माघ ७ गते बुवा गणेशबहादुर र आमा यमुनादेवीको कोखबाट जन्मिएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गरेका थिए।
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका दुराले संसद सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायतका जिम्मेवारी निर्वाह गरेका छन्।
प्रकाशित: ३१ जेष्ठ २०८२ २२:०४ शनिबार