भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै लामो समयदेखि विपक्षीले अवरोध गर्दैआएको प्रतिनिधिसभा बैठक शुक्रबार भने चलेको छ। यद्यपि संसद चलाउने विषयमा सबै विपक्षी दलको सहमति भने भएको छैन।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग सहमति गरेर संसद खुलाउन तयार भएपनि अन्य विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) भने तयार भएन।
माओवादीको सहमतिमा नेकपा एकीकृत समाजवादी र आम जनता पार्टी लगायतका दलले भने सहमति जनाएको छ।
यसपछि सुरु भएको बैठकमा रास्वपा र राप्रपा सांसदले ठाउँबाट उठेर विरोध सुरु गरे। तर, सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाए। त्यसपछि घिमिरेले दलीय आधारमा बोल्ने समय दिए।
जसमा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले बोल्न सुरु गरे। पाण्डे बोल्दा रास्वपा र राप्रपाका सांसदहरूले पूरै समय उठेर टेबल ठटाइरहे।
त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलले धारणा गरे।
प्रकाशित: ३० जेष्ठ २०८२ १७:११ शुक्रबार





