सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेपछि राजनीतिक वृत्तमा विवाद उत्पन्न भएको छ।
राज्यकोषको दुरुपयोग भएको भन्दै नेकपा (एमाले) का नेता महेश बस्नेतले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको चर्को आलोचना गरेका छन्।
नेता बस्नेतले शनिबार सामाजिक सञ्जालमा मन्त्री सिंहलाई लक्षित गर्दै लेखेका छन्, “वीर गणेशमान सिंहको छोराले त्यो नाम र आदर्शको मूल्य यति सस्तोमा फ्याल्नु राम्रो हो त दाजु ? सत्ता सस्तो नबनाउनुहोस् !” उनले जनताको करबाट संकलित रकम दलगत लाभका लागि बाँड्नुले शासन प्रणाली र दलहरूमैथि गम्भीर प्रश्न उठेको बताए।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले सुरुमा ‘तरुण दलको भवन निर्माण’ का लागि बजेट छुट्टिएको भन्दै सभापति शेरबहादुर देउवा र मन्त्री सिंहलाई धन्यवादसहितको विज्ञप्ति सार्वजनिक गरे।
तर, चौतर्फी आलोचना भएपछि उनले अर्को विज्ञप्ति जारी गर्दै उक्त बजेट तरुण दलको नभई ‘गणेशमान सिंह स्मृति भवन’ का लागि भएको र त्यसले युवाहरूको क्षमता विकासमा योगदान पुर्याउने दाबी गरे।
मन्त्री सिंहले आफ्नै मन्त्रालयबाट पार्टीको भ्रातृ संगठनलाई लाभ पुग्ने गरी बजेट छुट्याएको भन्दै उनको आलोचना भइरहेको छ।
प्रकाशित: २४ जेष्ठ २०८२ २०:२१ शनिबार