प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा मेडिकल कलेज स्थापनाका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका छन्।
मोरङको कटहरीमा जीवन विकास समाजले स्थापना गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन प्रालीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापनाका लागि सरकारले सहयोग गर्ने बताएका हुन्।
ओलीले भने ‘जीवन विकासले मेडिकल कलेज खोल्ने लक्ष राखेको रहेछ। यो प्रयासलाई सरकारले जे जस्तो सहयोग गर्न सक्छ सहयोग गर्न तत्पर छ।’
ओलीले रोजगारी भनेको जागिर मात्रै नभई काम गर्नु भएको बताए। उनले उद्यमशीलता मात्रै रोजगारीका अवसर सृजना हुने र काम गर्न अवसर पाइने स्पष्ट पारे।
उनले भने ‘कुराले उद्यमशीलता हुँदैन, काम गरेर मात्रै उद्यमशीलता हुन्छ। रोजगारी सृजना हुन्छ।’
कुनै पनि देश आफ्नै प्रयासबाट बन्ने भएकाले अरूले आएर देशको विकास नगर्ने उनको भनाइ थियो। कमजोरी, अभाव, गरिबी र अशिक्षा अन्त्य गर्न कामनाले मात्रै नहुने, प्रयासबाट सम्भव हुने उनले सुनाए।
प्रकाशित: २४ जेष्ठ २०८२ १६:५८ शनिबार





