१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्त्वपूर्ण आयाम स्थानीय तह भएको बताएकी छिन्।

विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहका उपप्रमुखहरूको दुईदिने राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको संविधानले सङ्घीय शासन प्रणालीमार्फत स्थानीय तह अर्थात् स्थानीय सरकारलाई अधिकार सम्पन्न र जनताप्रति उत्तरदायी बनाएको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “स्थानीय तहमा महिला नेतृत्वले प्राप्त गरेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाइरहेको छ ।”

संविधानले स्थानीय पूर्वाधार निर्माण, विद्यालयको व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, वातावरण तथा जैविक विविधताको संरक्षण, कृषि प्रवर्द्धन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइलगायत विषयमा स्थानीय सरकारलाई अग्रणी भूमिका प्रदान गरेको उनले उल्लेख गरिन्।

उनले भनिन्, “हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीमात्र नभई अब एउटा जीवन पद्दतिका रूपमा विकसित भएको छ । गणतन्त्रको जगमा हामीले विकास निर्माणलाई तीव्रता दिएर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनु लाग्नुपर्छ ।”

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा सुशासन र पारदर्शिता आमचासोको विषय बनिरहेको सन्दर्भमा स्थानीय तहका जनप्रतिनिधिसहित सम्बद्ध सबैले यसमा ध्यान पुर्याउनु  आजको आवश्यकता भएको चर्चा गरिन्।

उनले संवैधानिक व्यवस्थाले महिलाको प्रतिनिधित्वमात्र सुनिश्चित गरेको नभइ नेतृत्वदायी भूमिकामा सहभागिता बढाएर विकास निर्माणका सारथी महिला पुरुष दुवै हुन् भन्ने मान्यतालाई पनि स्थापित गरेको उल्लेख गरिन्। पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकास निर्माणको प्रक्रियालाई तीव्रता दिनु आजको आवश्यकता भएकोमा जोड दिइन्।  

प्रकाशित: २३ जेष्ठ २०८२ १७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App