१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कमल थापा पक्राउ लगत्तै राजावादी धर्नामा: रिहाइ नभए आन्दोलन चर्काउने

तस्बिर: विजय राई/नागरिक

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै आज (आइतबार) काठमाडौंमा प्रदर्शनमा उत्रिएका राजावादीहरूले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि धर्ना सुरु गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई प्रहरीले नारायणचौरबाट बालुवाटारतर्फ अघि बढ्ने क्रममा नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरूले तत्काल रिहाइको माग गर्दै धर्ना थालेका हुन्।

यता, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार, नारायणचौरबाट प्रदर्शनमा निस्किएको समूहले बालुवाटारमा प्रहरीले राखेको ब्यारिकेड तोडेर अघि बढ्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ।

गत जेठ १५ गतेदेखि राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग राख्दै राजावादीहरूले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।

हिजो (शनिबार) पनि उनीहरूको प्रदर्शन बालुवाटार नजिक पुगेको थियो। आज नारायणचौरबाट बालुवाटारतर्फ अघि बढ्ने क्रममा राजावादीहरू उग्र बन्दै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ।

प्रधानमन्त्री, सभामुख लगायतका उच्च सरकारी अधिकारीहरूको निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०८२ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App