तीन दिनदेखि काठमाडौंमा राजावादी प्रदर्शन जारी छ। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा भइरहेको राजावादी आन्दोलनमा यस पटक चैत १५ को तीनकुनेको हिंसात्मक काण्डमा पक्राउ परेर हिरासतमा रहेका दुर्गा प्रसाईँको समूहबाट बाँकी सबै राजावादी समूह तथा पार्टीहरू सामेल छन्। जसमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल पार्टी समेत सामेल छन्।
जेठ १५ गतेको गणतन्त्र स्थापनाको वर्षगाँठकै अवसर पारेर यस पटक राजावादीले गणतन्त्र फाल्ने आन्दोलन थालनी गरेका छन्। तीन दिन देखि निरन्तर रहेको आन्दोलन राजसंस्था नफर्काउँदासम्म जारी राख्ने राजावादीको दाबी छ। तर उनीहरूको आन्दोलन दिनप्रतिदिन फितलो हुँदै गएको छ।
दाहालको ‘नुवाकोट टिप्पणी’
यता राजावादीले आन्दोलन चर्काइरहँदा गणतन्त्रका लागि १० वर्षे सशस्त्र संघर्ष गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष शनिवार नुवाकोट पुगेका थिए। नुवाकोटमै बिहान पत्रकार सम्मेलन भयो। जहाँ कुरा राख्ने क्रममा दाहाल राजावादी आन्दोलनबारे पनि बोले।
उनले पत्रकारसँग कुरा गर्दै राजावादीले भाडाका मान्छेको बलमा आन्दोलन गरिरहेको टिप्पणी गरेका थिए। ‘मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ । नेपाल धेरै अघि बढिसकेको छ,’ अध्यक्ष दाहालले भने, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो। राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ।’ राजावादीसँग अलिकति पैसा भएकाले अहिले मान्छे ल्याइरहेको पनि दाहालले बताए। उनले भने, ‘उहाँहरूसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदतर्फ इङ्गित गर्दै उनले संविधानअनुसार शपथ र सेवा सुविधा लिएर विरोध गर्नु अनैतिक हुने पनि बताए। उनले भने, ‘सदनमा यही संविधान अनुसार शपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरू लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबले पनि बिलकुल बेठीक हो।’
राजावादीको पक्षमा जनमत समेत नरहेको अध्यक्ष दाहालले बताए। ‘राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन,’ उनले भने।
लिङ्देनको प्रतिवाद
दाहालले भनेको उक्त अभिव्यक्तिबारेको समाचार नागरिक न्युज लगायतका सञ्चारमाध्यममा आइसकेको थियो। उक्त समाचार राजावादीहरू नपढ्ने कुरै थिएन। त्यसको राप्रपा अध्यक्ष लिङ्देनले प्रदर्शन स्थलबाटै प्रतिवाद गरेका छन्। उनले गणतन्त्र जान लागेको दाबी गर्दै माओवादी अध्यक्ष दाहाल बर्बराइरहेको टिप्पणी गरे।
‘प्रचण्ड –दाहाल)जी राम्रो भए पनि नभए पनि उहाँ गणतन्त्रको संस्थापक हो । उहाँको नेतृत्वमा नेपालमा गणतन्त्रको मुद्दा उठेको हो । त्यसैले गणतन्त्र हल्लिँदा सबैभन्दा ठुलो पिर उहाँलाई पर्नु स्वाभाविक हो,’ लिङ्देनले भने, ‘त्यसैले पिर परेको बेलामा केके बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ।’
दाहालले विगतमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू बोलेर ल्याएको पनि लिङ्देनले दाबी गरे। ‘उहाँहरूलाई थाहा छ। खुवाएर पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको होला,’ लिङ्देनले भने।
प्रकाशित: १७ जेष्ठ २०८२ १७:२८ शनिबार





