१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले बुद्धिजीवीलाई ओलीको सुझाव: झोले भन्दा नडराउनुस्, म पनि जनताकाे झोले हो

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकै भरमा आउने ‘झोले’ कमेन्टबाट नआत्तिन एमालेनिकट बुद्धिजीवीसँग आग्रह गरेका छन्। शनिवार एमालेनिकट बुद्धिजीवी परिषद्को अधिवेशन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन्। 

‘सो कल्ड आलोचनात्मक चेत भएकाहरू तपाईँहरूले सही लेख्नुभए पनि ‘तपाईँ पनि झोले हुनुभएछ’ भन्दिन्छन्,’ प्रधानमन्त्री ओलीले भने। 

फालिसकेको राजतन्त्रको पक्षमा म त रैतान हुन तयार छु भनेर नारा लाउँदा झोले नहुने अनि जनताको पक्षमा काम गर्ने एमालेको पक्षमा बोल्न झोले भन्दै आलोचना गर्ने प्रवृत्तिविरुद्ध प्रधानमन्त्री ओली खनिए। 

‘म स्वतन्त्र मानव होइन, एउटा नागरिक सर्वोच्चता स्विकार्ने मान्छे होइन, म प्रभुको दास हुन तयार छु भनेर कबुलियतनामा गर्न लाज नहुने। ती झोले नहुने,’ उनले भने, ‘सबै मानिस स्वतन्त्र छन्, २५ सय वषअघि प्लेटोले भनेको कुरा आज आएर नबुझ्ने, झोला नबोक्ने स्वतन्त्र मानव भई टोपल्ने त्यो भन्दा पराकाष्ठा के हुन्छ गुलामीको?’

त्यस कारण यी गुलामी मनोवृत्तिका, दास मनोवृत्तिका तथाकथित निष्पक्षताको आलोचनात्मक चेतका यस्ता कुनै कुराको भ्रममा नपर्न उनले आग्रह गरे।  आफूलाई झोले भन्दा अलिकता पनि अप्ठेरो नलाग्ने पनि प्रधानमन्त्री ओलीले बताए। 

उनले भने, ‘म जनताको झोला बोक्ने मान्छे हुँ, जनताका हितहरूको झोला बोक्ने, राष्ट्रका इज्जतको झोले बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरवको झन्डा माथि उठाउने, परिवर्तनको झन्डा माथि उठाउने एउटा झोले हुँ।’ 

झोले हुनमा नराम्रो केही नभएको पनि उनले बताए। ‘मैले कुनै सामन्तको झोला बोकेको छैन। कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्दै कुदेको छैन। इतिहासलाई बांगोटिंगो पारेर मर्काएको छैन,’ प्रधानमन्त्री ओलीले भने। 

आफू एमालेको झोले रहेको स्विकार्ने पनि ओलीले बताए। उनले भने, ‘हो त्यस्तो झोले हो म, नेकपा एमालेको त्यस्तो झोले। म कबुल गर्छु। झेला बोकेर हिँड्या हो, यी झोला राम्रो कुरा बोक्न बनेका हुन।’ 

एमालेलाई झोले भन्ने पनि एक प्रकारका मानव मेसिन रहेको उनले बताए। ‘तिनीहरू जे आदेश आयो त्यही पालन गर्ने मसिन हुन। कहिलेकाहीँ हुकुम लिन कुन निवासमा कता जम्मा भए भन्ने सुनिन्छ,’ उनले भने। त्यहाँ अधिवेशनबाट निर्णय नभई हुकुमबाट निर्णय हुने उनले बताए। 

चार वटा कमेन्ट आएका भर बुस्ट गरेर सो कल्ड कमेन्टका भरमा नडराउन उनले आग्रह गरे। 

प्रकाशित: १७ जेष्ठ २०८२ १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App