कोशी प्रदेशका किसानले उत्पादन गरेको मकै सुकाउने ठाउँ निर्माणका लागि बजेट विनियोजन गर्न कोशी प्रदेश सभामा माग गरिएको छ ।
शुक्रबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद निरादेवी खनालले तराई क्षेत्रमा उत्पादन भएको मकै सुकाउने ठाउँ नहुँदा किसान मर्कामा परेकाले आगामी आर्थिक वर्षको बजेटमा मकै सुकाउने ठाउँको व्यवस्था गर्न माग गरेकी छिन् ।
तराई क्षेत्रमा मकै जोन– सुपर जोन घोषणा भई मकैको उत्पादन अत्याधिक बढे पनि मकै सुकाउने ठाउँ नहुँदा किसानले पानीमा नै मकै थुपार्नुपर्ने बाध्यता रहेको खनालले बताइन् । ‘आगामी आर्थिक वर्षको बजेटमा किसानलाई मकै सुकाउने र भण्डारण गर्ने ठाउँको व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरियोस्’ उनले भनिन्‘ सरकारले जनताको पिर मर्का देख्नु पर्ने हो।’
सुकाउने र भण्डारण गर्ने ठाउँ नपाउँदा किसानले उत्पादन गरेको मकै कम्मर कम्मरको पानीमा थुपार्नु पर्ने बाध्यता रहेको उनको गुनासो छ । पछिल्ला वर्षहरूमा कोशी प्रदेशका तराईका जिल्लाहरूमा मकै खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्दै गएको छ । तर, किसानले मकै सुकाउने र भण्डारण गर्ने ठाउँ नपाउँदा उत्पादन गरेको मकै कुहिने र नष्ट हुने गरेको छ।
प्रकाशित: १६ जेष्ठ २०८२ १७:५६ शुक्रबार





