नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोइरालाले काँग्रेस कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्ने बताएका हुन् ।
'नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्र हुँदै,' कोइरालाले भने 'कार्यकर्ताहरु स्वाभिमानी बन्नुपर्छ । आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।'
नेपाली कांग्रेस फालेलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभाबी बोल्दै हिँडेको आरोप लगाए ।
‘ओलीजीले जथाभाबी बोलिरहनुभएको छ,” प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने “प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौँ कब्जा गर्न निर्देशन दिन मिल्दैन ।” प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो ।
आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरूले पनि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोइरालाको ठहर थियो ।
प्रकाशित: १२ जेष्ठ २०८२ १८:५१ सोमबार





