राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी छ। सिंहदरबारस्थित दलको कार्यालयमा जारी बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक विषयमा छलफल भइरहेको प्रवक्ता मनीष झाले बताए।
रास्वपाले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई गहनताका साथ उठाइरहेको छ। यसअघि ११ गते बसेको केन्द्रीय समितिको बैठकले पनि यो विषयलाई जोडतोडका साथ उठाएको छ।
उसले गृहमन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग गर्दै आएको छ। संसदीय दलको बैठकमा पनि यिनै विषयहरूमा छलफल हुने रास्वपाले जनाएको छ।
जेठ १५ गते संसद्मा बजेट पेस हुँदैछ। उक्त दिन गृहमन्त्री लेखककै विषयलाई लिएर संसद् अवरुद्ध हुनसक्ने सम्भावना देखिन्छ। खासगरी प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, विपक्षी दलहरू रास्वपासहित एकीकृत समाजवादी, राप्रपालगायतका दलहरू थप आक्रामक बन्दै गएका छन्।
यो पृष्ठभूमिमा आफूहरूको भूमिका के हुने भन्नेबारे रास्वपा छलफलमा बसेको हव।
प्रकाशित: १२ जेष्ठ २०८२ १६:४१ सोमबार





