१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

०४६ सालभन्दा अगाडि नेपालमा कराते प्रतिबन्धित थियाे : उपप्रधानमन्त्री सिंह

प्रजातन्त्र प्राप्तिपछि नै नागरिक अधिकार सुरक्षित भएकाे नबिर्सन आग्रह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले ०४६ सालभन्दा अगाडिकाे व्यवस्थामा कराते खेल प्रतिबन्धित रहेकाे बताएका छन्। १०औँ धनबहादुर स्मृति अन्तर्राष्ट्रिय कराते प्रतियाेगिताकाे आज उद्घाटन समाराेहमा सम्बाेधन गर्दै सिंहले एकदलीय निरंकुश पञ्चायती व्यवस्थामा कराते समेत सबैले खेल्न नपाउने अवस्था रहेकाे बताए। 

०४६ सालकाे जनआन्दोलनपछि खुला रूपमा खेलकुद प्रतियोगिता आयाेजना गर्न र खेल्न पाउने अवस्था बनेकाे भन्दै उनले निरंकुश र प्रजातान्त्रिक व्यवस्थामा के फरक हुन्छ भन्ने बुझ्न आग्रह गरे।

'०४६ सालभन्दा अगाडि नेपालमा कराते प्रतिबन्धित नै थियाे। खेलाडीहरूले गुरूहरूबाट भूमिगत रूपमा अभ्यास गर्ने चलन थियाे,' उपप्रधानमन्त्री सिंहले भने, 'जनअधिकारलाई सुरक्षित गर्दै देश विकासकाे कार्यलाई अगाडि बढाउन हामीले प्रयास गर्नुपर्छ।' 

उनले पञ्चायतमा खेल खेल्न समेत नागरिकले नपाउने अवस्था रहेकाे स्मरण गर्दै अहिले खेलको रूपमा खेल खेल्न पाउने अवस्था बनेकाे बताए। प्रजातन्त्र आएर के भयाे र भनेर भ्रम फैलाउन खाेज्नेहरू सक्रिय रहेकाे भन्दै उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र प्राप्तिपछि नै नागरिक अधिकार सुरक्षित भएकाे नबिर्सन आग्रह गरे।  

उनले प्रतियोगिता सफलताकाे शुभकामना पनि व्यक्त गरे।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले ०१७ सालमा जनताकाे अधिकार खाेसिएपछि त्यसलाई पुनर्बहाली गर्न र खेलकुदकाे विकासमा धनबहादुर महर्जनकाे भूमिका रहेकाे पनि स्मरण गरे।

प्रकाशित: ११ जेष्ठ २०८२ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App