गृहमन्त्री रमेश लेखकले कुनै पनि कर्मचारीमाथि अनुसन्धान प्रारम्भ हुँदैमा सम्बन्धित मन्त्रीले राजीनामा दिँदै जानुपर्ने अभ्यास नरहेको र त्यस्तो पद्धति बसाउन नसकिने बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ दुरुपयोग प्रकरणमा आफ्नो नाम मुछिएपछि र राजीनामाको माग उठेपछि उनले शनिबार यस्तो प्रतिक्रिया दिएका हुन्।
सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लेखकले आफूमाथि लागेको आरोप र राजीनामाको मागको खण्डन गरे। उनले गृह मन्त्रालय अन्तर्गत लाखौं कर्मचारी रहेको र कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले अनुसन्धान गर्न सक्ने उल्लेख गर्दै प्रश्न गरे, ‘कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जाने हो ? के त्यही पद्धती बसाउने हो ? त्यो सम्भव छ ? आजसम्म त्यस्तो भएको छ ?’
आफूविरुद्ध राजनीतिक रूपले नियोजित र षड्यन्त्रमूलक ढंगले झुटा प्रचारबाजी भइरहेको दाबी गर्दै उनले आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा कुनै आर्थिक अनियमितता गरेको प्रमाणित भए पदबाट मात्र नभई राजनीतिबाटै राजीनामा दिने घोषणा गरे।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु,’ मन्त्री लेखकले भने।
उनले यस विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको पनि जानकारी दिए।
प्रकाशित: १० जेष्ठ २०८२ २०:२० शनिबार