राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान गृहमन्त्री रमेश लेखक र उनको सचिवालय ‘भिजिट भिसा’ दुरुपयोग गरी मानव तस्करीमा संलग्न रहेको आरोप लगाउँदै तत्काल राजीनामा माग गरेको छ।
शनिबार बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठकले यस्तो निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
विगतमा सांसद रमेश लेखक (हालका गृहमन्त्री) ले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनी दिएको अभिव्यक्तिको स्मरण गराउँदै रास्वपाले गृहमन्त्रीलाई यथाशीघ्र पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गरेको प्रवक्ता झाले बताए।
यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा उत्पन्न हुन सक्ने नेपाली राजनीतिप्रतिको वितृष्णाको कारक नबन्न पनि पार्टीले सुझाव दिएको छ।
आफ्ना सभापति रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेशलाई कानुनी रूपमा स्वीकार गर्ने तर सहकारीको बोर्डमा रहेका, सहकारी वचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडेर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा पार्टीको सरोकार र चिन्ता रहेको पनि प्रवक्ता झाले उल्लेख गरे।
प्रकाशित: १० जेष्ठ २०८२ १९:०२ शनिबार





